Logo

प्रमुख समाचार

भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ



काठमाडौँ — भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

बिहीबार दिउँसो उनी काठमाडौंबाट पक्राउ परेका हुन् । बिहीबार अपरान्ह ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका अन्यले दिएको बयानका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताएको छ ।

सुरुमा नेपाली नेताहरुसँग भुटानीहरुलाई तेस्रो देश पुनर्स्थापनामा गर्न उनैले पहल गरेका कारण उनलाई शरणार्थीको नेता पनि भन्ने गरिन्छ । करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि उनले नै पहल गरेका थिए । त्यसक्रममा उनले तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमै भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए । शरणार्थी समस्या समाधानका लागि त्यतिबेलै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटेर आग्रह गरेका थिए ।

नेता रिजालले बीचमा गिरोहले रकम उठाइरहेको सुँइको पाएपछि नेताहरुलाई भेटेर यसबारे ध्यानकर्षण गराएका थिए । तर उनी आफैं नै गिरोहसँगको आर्थिक लेनदेन संलग्न रहेको तथ्य भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनी भुटानबाट विस्थापित भइ नेपालमा शरण लिइरहेका शरणार्थीहरु मध्येका उच्च तहका व्यक्ति भएर बसेका थिए । उनलाई नेपाल सरकारले मासिक १ लाख रुपैया तलब, ड्राइभरसहित गाडी सुविधा दिएको थियो । झापाको बिर्तामोडमा बस्ने उनी काठमाडौंमा आउदा चावहिलमा डेरामा बस्ने गरेकाे प्रहरीले जानकारी पाएकाे थियाे ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणजस्ता ‘हाइ प्रोफाइल’ व्यक्तिसहित १५ जना पक्राउ परिसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजै हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  ५ : ५५ बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।