Logo

प्रमुख समाचार

पूर्व ‘माओवादी लडाकुहरु’को एकै स्वरः प्रचण्डलाई किन मुद्दा नहाल्ने ?

‘१२ वर्षको उमेरमा बुर्जुवा शिक्षा भनेर कलम र कपी फ्याल्न लगाइयो । हतियार हातमा थमाइयो । ग्रिनेडहरु कम्मरमा भिराइयो ।'



काठमाडौं । ‘१२ वर्षको उमेरमा कक्षा ७ मा पढ्दा पढ्दै अखिल क्रान्तिकारीको कार्यक्रम छ भनेर झुक्याएर दोलखाको भैसे डाँडामा पुर्याइयो । आज एक दिन यही बस्नुस भनियो । आज घर पुर्याउन सकिएन भोलि घर पठाउने भनेर त्यहीँ राखियो । भोलिपल्ट जनमुक्ति सेनाहरु आएर अब देशलाई पढ्ने विद्यार्थी भन्दा पनि रगत बगाउने सिपाईँहरु चाहिएको छ भन्दै १२ वर्षको उमेरमा बन्दुक थमाइयो । र, कलम र कपी स्थगित गर्न लगाइयो । अब प्रचण्डलाई हामीले मुद्दा किन नहाल्ने ?’  तत्कालीन माओवादीका एक बाल सैनिकले प्रश्न गरे ।

‘१२ वर्षको उमेरमा बुर्जुवा शिक्षा भनेर कलम र कपी फ्याल्न लगाइयो । हतियार हातमा थमाइयो । ग्रिनेडहरु कम्मरमा भिराइयो । त्यही बेलादेखि जनमुक्ती सेनामा भर्ना भइयो । हिजो जनयुद्वमा एउटै बन्दुक बोकेर हिँड्ने योग्य तर त्यही बन्दुक बोक्ने हामी कसरी अयोग्य ? यही विषय छातिमा बारबार बाण लागिरहेको थियो र छ । र हामीले प्रचण्डलाई मुद्दा हाल्न तयार भयौं ।’, उनले फेरि प्रचण्ड विरुद्व मुद्दा हाल्ने कारणबारे प्रष्ट्याए । ‘

‘नेपालमा जितेर पनि हार्नु परेको छ। गणतन्त्र प्राप्तिका लागि आफू मर्न तयार भयौं । आफन्तहरु गुमाउन तयार भयौं । माओवादीको एक भाषणमा एकले अर्कालाई परिवर्तनका लागि मर्न र मार्न तयार भयौं तर आज हामीलाई नै अयोग्यको बिल्ला भिराएर समाजमा दसैँ र तिहारमा आफ्नो ठाउँ जान नि नहुने अवस्था भएको कारण हामी प्रचण्डलाई मुद्दा हाल्न तयार भएका हौं ।’, उनले अरु थप करण फेरि सुनाए ।

‘हामीले लडेको युद्वका कारण, परिवर्तन आएका कारण सबैले बोल्न पाएको देख्दा अत्यन्त खुसी लाग्छ । तर गाउँमा जाँदा माओवादीको लडाकु आएछ भन्छन् । माओवादी त ब्यर्थै भइएछ भन्ने लाग्छ । कता कता हामीले माओवादी बनेर ठूलै गल्ती गरिएछ भन्ने लाग्छ । बरु पढ्न पाएको भए धेरै नै खुसी हुन्थ्यौं । तर आज जनयुद्व देश र जनताको लागि भनेर हिँडेको मान्छे, गाउँ जाँदा उमेर नपुगेको बाल सेना आएछ भनेर छलफल नै चल्छ । त्यस कारण हामीले प्रचण्डलाई सोची सोची मुद्दा हालेका हौं ।’, काठमाडौंमा पत्रकार सम्मेलनमा उनले फेरि प्रचण्डलाई मुद्दा हाल्ने कारणबारे प्रष्ट पारे ।

‘अनमिनले हामीलाई भनेको छ, उमेर नपुगेको कारण तपाईँहरुलाई बाल सेना बनाइएको हो । तर प्रचण्ड आफैँले संसद भवनमा गएर भन्छन, ‘अयोग्य’ लडाकु । अनि हामीले प्रचण्डलाई मुद्दा किन नहाल्ने ?’, बाल सैनिक संगठनका उपाध्यक्ष परमेश्वर खड्काले बाल सैनिकलाई अयोग्य भनेर अपमानित गरेको भनेर माओवादीका नेता प्रचण्डमाथि रोष प्रकट गरे गर्दै मुद्दा हाल्ने कारणबारे थप तर्क गरे । उनी मात्रै होइन बाल सैनिकका अध्यक्ष लेनिन विष्ट सहितको टोलीले २९७३ जना तत्कालीन बाल सैनिकलाई तत्कालीन बिद्रोही पक्षले नै अपमान गरेको भन्दै १७ वर्षदेखि न्याय, क्षतिपूर्ति र सम्मानको खोजी गरिरहेका छन् । लेनिन विष्टलगायतको टोली तत्कालीन माओवादी द्वन्दको बेला बिद्रोही पक्षको तर्फबाट सेनाको रुपमा युद्व लडेका थिए ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रचण्डलगायतको तत्कालीन माओवादी बिद्रोही नेताहरुका विरुद्व ‘युद्व अपराध’को मुद्दा दायर गरेको विषयमा प्रष्टिकरण दिँदै तत्कालीन बाल सैनिकहरुले न्याय नपाएसम्म अन्तर्राष्ट्रिय अदालतमा समेत जाने बताए । तत्कालीन माओवादी नेतृत्वले द्वन्दकालमा सेना बनाएर प्रयोग गरे पनि अहिलेसम्म न्याय र क्षतिपूर्ति नदिएपछि तत्कालीन बाल सैनिकहरु यतिबेला न्यायका लागि सर्बोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।

बाल सैनिकका अध्यक्ष लेनिन विष्ट, संस्थागत संयोजक कृष्णप्रसाद दंगाल, उपाध्यक्ष द्वय परमेश्वर खड्का, शोभा पराजुलीलगायतले तत्कालीन माओवादी बिद्रोही पक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईलाई विपक्षी बनाइ ‘युद्व अपराध’ गरेको अभियोगमा मुद्दा दायर गर्न गएको जेठ १२ गते सर्बोच्च अदालत पुग्दा सर्बोच्चले अदालतको नियमावली २०७४ को नियम १८ बमोजिम रिट निवेदन दर्ता गर्न मिलेन भनेर दरपीठ गरिदियो । त्यसको विरुद्व फेरि रिट निवेदन दर्ता गर्न माग गर्दै बाल सैनिकका अध्यक्ष लेनिन विष्टलगायतको टोली रिट निवेदन पत्र दर्ता गरी पाउँ भनेर सर्बोच्चमै गएका छन् । त्यसको पेसी भोलि जेठ २२ गते सोमबार रहेको छ । सरकारले बाल सैनिकलाई न्याय पनि नदिएको क्षतिपूर्ति पनि नदिएको भन्दै अन्तिम लडाइँमा अन्तर्राष्ट्रिय अदालत जाने बाल सैनिकहरुले बताएका छन् ।

पटक पटक राज्यले आफूहरुलाई धोका दिएका कारण आफूहरु अदालत जानु परेको अध्यक्ष विष्टले बताए । उनले भने, ‘हजारौ निवेदकहरु निवेदन लिएर सर्बोच्च अदालत जानुपर्ने अवस्था रहेको छ ।’ नेपालको कानुनले न्याय नदिए अन्तर्राष्ट्रिय अदालतको ढोका खुल्ला रहेको विभिन्न अधिवक्तहरुले पनि बताएका छन् । अधिवक्ता श्रीराम अधिकारी, स्वागत नेपाल, तेजेन्द्र पाण्डे, ज्ञानेन्द्रराज आरण, विष्णु भट्टराईहरुले जनयुद्वमा प्रयोग गरिएका बाल सैनिकहरुका माग तत्कालीन बिद्रोही माओवादी र सरकाले सम्बोधन नगरे ‘युद्व अपराध’को मुद्दामा अन्तर्राष्ट्रिय अदालतमा जान बाध्य हुने बताए । उनीहरुले नेपालको अदालतले न्याय नदिए बालबालिकाको दुरुपयोग गरेको विषयमा अन्तर्राष्ट्रिय अदालतको कठघरामा उभिनुपर्ने बताए ।

अधिवक्ता ज्ञानेन्द्रराज आरणले प्रधानमन्त्री प्रचण्डले खुल्ला मञ्चबाटै पाँच हजार नागरिक मारेको र ती नागरिकको जिम्मा आफूले लिने बताएका कारण द्वन्द्वको सबै जिम्मेवारी तत्कालीन माओवादी नेतृत्वले लिनुपर्ने बताए । उनले भने, ‘प्रचण्डले खुल्ला मञ्चबाट द्वन्दकालमा पाँच हजारको जिम्मा लिने भनेपछि मुद्दा उनीप्रति सोझिएको हो । पाँच हजारमध्ये कोही पनि पीडितहरु आउन चाहनुहुन्छ भने म त्यसको जिम्मा लिन चाहन्छु भनेर प्रचण्डले एक अन्तरवार्ता पनि दिएका छन् । त्यस कारण प्रचण्डलाई युद्व अपराको मुद्दा लाग्छ ।’ उनले बाल सैनिक प्रयोगमा कानुनको पर्याप्त उलङ्घन भएको प्रमाणका कारण बाल सैनिकहरुले दायर गरेको मुद्दा दर्ता गर्न आवश्यक रहेको बताए ।

त्यस्तै वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले युद्व अपराधको मुद्दा प्रचण्डलगायतको तत्कालीन नेतृत्वलाई लाग्ने बताउँदै भने, ‘प्रचण्डलगायतले बालबालिकालाई प्रयोग गरेर ‘अयोग्य’ भनेपछि उहाँहरुले नै अपराध गरेको स्वीकार गर्नुभएको छ ।’ त्यस्तै मानव अधिकारकर्मी चरण प्रसाईँले नेपालको अदालतलले बाल सैनिकहरुलाई न्याय दिन नसके अन्तर्राष्ट्रिय अदालतको ढोका खुल्ने बताए । उनले भने, ‘यो न्याय यहाँको अदालतले दिएन भने अन्तर्राष्ट्रिय अदालतको ढोका खुल्छ । यदी अन्तर्राष्ट्रिय अदालतमा गयो भने राज्यले पनि दुःख पाउँछ ।’

बाल सैनिकका संस्थापक संयोजक कृष्णप्रसाद दंगालले पनि नेपालमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत रहेको छ भन्ने आफूहरुलाई ज्ञान रहेको बताए । उनले प्रचण्ड लगायतको नेतृत्वलाई लक्षित गर्दै भने, ‘व्यवस्था परिवर्तन गरेकै हो भन्ने प्रत्याभूति दिनुहोस् । अहिलेसम्म कसैले पनि न्याय पाएको देखेका छैनौं । त्यसो भए हामीले सधैँ हिजोको नेतृत्वलाई किन जोगाउने ?’

उनले आगामी दिनमा आफूहरुजस्ता बालबालिकाको दुरुपयोग युद्व तथा द्वन्दमा नहवस् भनेर पनि नजिर स्थापित गर्न आवश्यक रहेको बताए । उनले आफूहरुलाई प्रचण्ड नेतृत्वको संगठनले मार्न सक्ने समेत आशंका व्यक्त गरे । दंगालले भने, ‘हामीलाई मार्न नि सक्छन् । यिनीहरु बेमान छन् । धम्क्याउने किसिमका फोनहरु आउन थालेका छन् ।’

बाल सैनिकको दुरुपयोगको विषयमा अधिवक्ता तेजेन्द्र पाण्डेले इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिसमार्फत अहिलेका धेरै भीभीआइपीहरु पक्राउ पर्ने बताए । युवा तथा युथ अफ नेशनका अध्यक्ष डा. निकोलस भूसालले पनि नेपालको अदालत र राजनीतिक नेतृत्वप्रति वितृष्णा रहेको बताए । उनले लालबहादुर बिकहरु अदालतमा बिना अपराध थुनिइरहने तर राजनीतिक भीभीआइपीहरु आम माफीको नाममा निस्किरहनाले अदालत र न्याय पनि राजनीतिक हस्तक्षेपबाट टाढा नरहेको बताए ।

याे पनि

प्रकाशित मिति : जेष्ठ २१, २०८० आईतबार  ९ : ४४ बजे

363
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।