Logo

उद्योग

बिदुर नगरपालिकाद्वारा जनस्वास्थ्यमाथि गम्भीर खेलबाडः बिना अध्ययन अस्फाल्ट प्लान्ट सञ्चालनको अनुमति

विषसरहको धुँवा र फोहोर उत्पादन गरेर बिदुर नगरपालिकाले निम्त्याउँदैछ बिनास !



काठमाडौं । बिदुर नगरपालिका वडा नम्बर–२, सेराका ८५ वर्षीय ट्ङ्कप्रसाद आचार्य लामो समयदेखि श्वासप्रश्वासलगायतका दीर्घरोगी हुन् । उनी दैनिक १४ घण्टा कृतिम अक्सिजन लिएर घरमा अशक्त जीवन बाँचिरहेका छन् ।

त्यस्तै सोही गाउँका हरि आचार्य फोक्सोको रोगी छन् । अलिकति हिड्दा श्वासप्रश्वास बढ्ने बताउँछन् । उनीहरुजस्ता धेरै बिरामी नुवाकोटको बिदुर नगरपालिकाको वडा नम्बर २ र ५ मा रहेका छन् । त्यस्तै लिखु गाउँपालिका वडा नम्बर ३ र बेलकोट गढी नगरपालिका वडा नम्बर १२ का नागरिकहरु पनि अहिले श्वासप्रश्वासको समस्यामा परेका छन् । उनीहरुसँगै बालबालिकाहरुलाई पनि श्वासप्रश्वासको बेलाबेला समस्या हुने गर्छ ।

अहिले रोग नै नलागेको स्थानीयबासी पनि श्वासप्रश्वासको रोगी बन्ने अवस्था सिर्जना भएको छ । बिदुर नगरपालिकाले अलकत्रा र गिट्टी मिसाएर सडक पीच गर्ने पदार्थ बनाउन ताडी खोला किनारमा अस्फाल्ट प्लान्ट स्थापना गर्ने अनुमति दिएपछि स्थानीय बासीहरु वातावरण प्रदुषणबाट पीडित भएका हुन । बिदुर नगरपालिका वडा नम्बर २ र ५, लिखु गाउँपालिकाको वडा नम्बर ३ र बेलकोटगढी नगरपालिकाको वडा नम्बर १२ जोडिएको ठाउँ ताडी खोलामा अमृत निर्माण सेवा प्रालिले अस्फाल्ट प्लान्ट सञ्चालनमा ल्याएको छ । सुशिल फुयाँल सञ्चालक रहेको अमृत सेवा प्रालिले बिना दर्ता उक्त उद्योग सञ्चालन गरिरहेको हो ।

अस्फाल्ट प्लान्ट बिदुर नगरपालिकाका पूर्व मेयर सञ्जु पण्डितले स्थापना गर्न अनुमति दिएका हुन । अस्फाल्ट प्लान्ट स्थापना भए पछि ताडी खोला आसपासका बासिन्दालाई उपहारमा धुँवाको मुस्लो, फोहोर उपलब्ध भएको त्यहाँको स्थानीय नागरिक माधव आचार्य बताउँछन् । उनी भन्छन्, ‘आफ्नो करेसामा फलेको सागपात खान सकिँदैन । बोटबिरुवाका पातहरु कार्बनको कालो धुवाँ र धुलोले छपक्कै छोपेको छ। घरबाहिर निस्किँदा कुईरिमण्डल पीरो धुवाँले आँखा हेर्न मिल्दैन ।’

स्थानीयबासीका अनुसार अहिले छाला चिलाउने, श्वास फेर्न गार्हो हुने, खोकी निरन्तर लाग्ने, खाध्यान्न सबै प्रदुषित हुने र आँखाको समस्या देखा परिसकेको छ । नागरिकहरुले उक्त उद्योग सार्न बारम्बार ताकेता गर्दा पनि कसैले नसुनेको स्थानीय बासी आचार्यले बताए । खोलामा बगेको पानीमा पनि अस्फाल्टबाट निस्केको फाहोर ‘लेदो’ मिसाउँदा गाई बस्तुलाई पानी खुवाउन नहुने भएको छ । गाईँ भैँसी पनि रोगी भएको स्थानीय बासीहरु बताउँछन् । डेढ वर्षअघि स्थापना भएको उक्त उद्योगबाट हानिकारकारक धुँवा र फोहोर फैलिइरहेको छ । नगरपालिकाले केही लाख राजश्वमा आँखा लगाएर हजारौं नागरिकको स्वास्थ्यलाई असर गर्ने गरी उद्योग सञ्चालन गर्न दिएको पाइएको छ ।

नागरिकहरुले चर्को बिरोध गरेपछि भने अहिले बिदुर नगरपालिकाले अस्थायी रुपममा सञ्चालन गर्ने गरी अनुमति नबिकरण गर्न गएको उक्त कम्पनीलाई स्वीकृति भने दिएको छैन । तर २० लाखभन्दा बढी कारोबार गर्ने यस्ता उद्योगको अनुगमन तथा सञ्चालन गर्न दिने जिम्मेवारी प्रदेश सरकारको रहेको कानुनी प्रावधान रहेको छ । प्रदेश सरकारलाई भने उक्त उद्योग त्यहाँ सञ्चालनमा रहेको वा नरहेको भन्ने जानकारी नै छैन । स्थानीय थतहले नै सक्रिय भूमिका खेल्नुपर्ने उक्त काममा स्थानीय तह पनि हच्किएको छ । वातावरणणीय अध्ययन गरेर आवश्यक कारबाही लिन स्थानीय तहले पाउँछ । तर बिदुर नगरपालिका आफैँले अनुपयुक्त ठाउँमा उद्योग स्थापना गर्न दिएरसमस्या सिर्जना गरेको पाइएको छ ।

नगरपालिकाले नागरिकको स्वस्थ्यमाथि गम्भीर असर पार्ने गरी अस्फाल्ट प्लान्ट उद्योग सञ्चालन गर्न दिइरहेपछि स्थानीय बासिन्दाले सिडिओ कार्यालय, अख्तियारको कार्यालयसम्म मुद्दा दर्ता गराएका छन् । केही पैसा पाएका कारण स्थानीय नेताहरुले त्यहाँ उद्योग सञ्चालन गर्न दिइरहेको आरोप लाग्ने गरेको छ । वातावरणमा गम्भीर असर हुने गरी उत्पादन हुने कार्बनलगायतका हानिकारक ग्यास, उद्योगबाट निस्कने कालो तरल पदार्थ खोलाको सफा पानीमा मिसाउन पाउने गरी उद्योग सञ्चालन गर्न दिइएपछि नगरपालिका मेयर तथा उपमेयरप्रति नागरिकले व्यक्तिगत लाभ हुने गरी पैसा लिएर उद्योग सञ्चालन गर्न दिएको आशंका गरेका छन् ।

डेढ वर्षअघिदेखि सञ्चालनमा रहेको अस्फाल्ट प्लान्टले नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर २ र ५, लिखु गाउँपालिका वडा नम्बर ३ र बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का बासिन्दाको स्वास्थ्यमा समस्या हुने गरी वायु तथा पानीमा फोहोर फैलिइरहेको छ । वातावरण अध्ययन गरेर उद्योग सञ्चालन गर्न दिनुपर्नेमा बिदुर नगरपालिकाले केही राजश्वको लोभमा बिना अध्ययन अस्फाल्ट प्लान्ट तादी खोलामा सञ्चालन गर्न दिएको पाइएको हो ।

अस्फाल्ट प्लान्ट सञ्चालन गर्न दिँदा धेरै नै धुलो, धुवाँ र पानीमा फोहोर मिसिएको स्थानीयबासीले बताएका छन् । बिदुर नगरपालिकालको यो भन्दा अघिल्लो कार्यकालमा अस्थायी रुपमा उक्त अल्फाल्ट प्लान्ट सञ्चालन गर्न दिएको थियो । दुई लाख रुपैयाँ राजश्व लिएर बिदुर नगरपालिकाका पूर्व मेयर सञ्जु पण्डितले अस्फाल्ट प्लान्ट सञ्चालन गर्न अनुमति दिएका थिए । उनले नगरपालिकामा हुने सडक पीचमा नयाँ र टिकाउ हुने अस्फाल्टको प्रयोग गर्न आफ्नै अग्रसरतामा उक्त प्लान्ट सञ्चालनमा ल्याएको बताए । तर वातावरण प्रभाव मूल्यांकन नगरी उनले उक्त प्लान्ट त्यहाँ सञ्चालनमा ल्याएको पाइएको छ ।

सडक निर्माण हुने ठाउँमा अस्फाल्ट प्लान्ट अस्थायी रुपमा सञ्चालन गर्न आयोजनाले स्थानीय तहसँग अनुमति माग्ने र सम्बन्धित स्थानीय तहले स्वीकृति दिए पछि सञ्चालन हुने गरेको छ । स्थानीय माधव आचार्यले अस्फाल्ट प्लान्ट सञ्चालनका कारण स्थानीय ४ वटा वडाका नागरिकाको स्वास्थ्यमा गम्भीर असर परिसकेको बताएका छन् । उनका अनुसार सडक जहाँ निर्माण हुनुपर्ने हो त्यहीँ अस्फाल्ट बनाउनुपर्नेमा विभिन्न ठाउँको सडक निर्माणका लागि त्यहाँबाट सडक पीच गर्ने सामाग्री लैजाने गरी उद्योगकै रुपमा उक्त अस्फाल्ट प्लान्ट सञ्चालनमा आएको छ । उक्त उद्योगबाट आएको फोहोर ‘कालो लेदो’ खोलामा मिसाइएको पाइएको छ । त्यसबाट आएको फोहोर पानीमा मिसाउँदा अझ समस्या आएको देखिएको छ । त्यहाँबाट आएको फोहोर हावामा पनि मिसिएको छ ।

No description available.

No description available.
अख्तियारमा अमृत निर्माण सेवा प्रालिलाई कारबाही गर्न माग गर्दै बिदुर नगरपालिकाका स्थानीय बासीले दिएकाे निवेदन

No description available.

No description available.

No description available.

No description available.
अख्तियारमा अमृत निर्माण सेवा प्रालिलाई कारबाही गर्न माग गर्दै बिदुर नगरपालिकाका स्थानीय बासीले दिएकाे निवेदन

स्थानीयबासीले त्यहाँको अस्फाल्ट प्लान्ट तुरुन्त बन्द गराउन नगरपालिका, जिल्ला प्रशासन कार्यालय, र अख्तियारमा समेत उजुरी दिएका छन् । तर अझै ३५ दिन सञ्चालन गर्न पाउने गरी बिदुर नगरपालिकाले उक्त प्लान्टलाई छुट दिएको छ । नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले उजुरी आएको तर वातावरण भन्दा पनि बिना दर्ता सञ्चालन भएको भन्ने ब्यहोराको उजुरी कार्यालयमा आएको बताए । उनले उक्त उजुरी घरेलु उद्योगमा पठाइएको पनि जानकारी दिए । उनले अस्फाल्ट प्लान्ट सञ्चालनको विषयमा स्थानीय तहले नै निर्णय गरिसकेको जानकारी आएको बताए । तर उनले सडक निर्माणको यो अन्तिम समयमा निर्माण व्यवसायीलाई काम गर्न नदिँदा राज्यसँग निर्माण व्यवसायीले नै क्षतिपूर्ति माग्ने र काम सम्पन्न नहुने समस्या आउने बताए । उनले एक वर्षसम्म सञ्चालनमा आएको त्यस उद्योग अहिले सञ्चालन गर्न नदिए राज्यलाई पनि केही घाटा हुने र सडक बन्ने काम पनि रोकिने बताए ।

बिदुर नगरपालिकाका पूर्व मेयर सञ्जु पण्डितले चाहिँ केही स्थानीय बासिन्दाले पहिल्यैदेखि नै उक्त अस्फाल्ट प्लान्टको बिरोध गरेको जनकारी दिएका थिए । अस्फाल प्लान्टबाट गिट्टी र अलकत्रा मिसाएर सडक पीच गर्ने कच्चा पदार्थ बनाइन्छ । उक्त कच्चा पदार्थ बनाउँदा उद्योगबाट अत्याधिक मात्रमा धुँवाको मुस्लो र धुलो फौलिएको छ ।

वातावरण विभागले कुनै पनि उद्योग स्थापना गर्नुभन्दा पहिला वातावरणिय प्रभाव मूल्यांकन हुनुपर्ने बताउँछ । एकै ठाउँमा साँढे एक वर्षदेखि अमृत निर्माण सेवा प्रालिमार्फत सञ्चालन गरिएको उक्त उद्योग कुनै ठाउँमा दर्ता पनि भएको छैन भने कुनै पविधिक अध्ययन बिना स्थापना गरिएको पाइएको छ । स्थानीय बासीले उक्त उद्योगबाट नेताहरुले पैसा लिइरहेकाले उद्योग सञ्चालन गर्न दिएको आशंका गरेका छन् । कुनै पनि उद्योग तथा कामको अनुगमन गर्न नगरपालिकामा उप–मेयरको संयोजकत्वमा समिति रहेको हुन्छ । तर बिदुर नगरपालिकाले नागरिकले निवेदन नै नगरपालिकामा पेस गर्दा समेत उक्त उद्योग सञ्चालनको कुनै विकल्प नदिएको देखिएको छ । हामीले बिदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीलाई अनुगमन गरेर उद्योग बन्द वा स्थानान्तर गर्न किन नसक्नुभएको भन्ने प्रश्न गर्दा बोल्न नसक्ने भन्दै फोन सम्पर्क टुटाइन् । नगरपालिकाका प्रवक्ता तथा बिदुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रबीन्द्र नेपालले ३५ दिन अन्य स्थानमा सार्ने समय सिमा दिएको बताए । तर अहिले पनि उद्योग सञ्चालनमै रहेको छ । उनले एक वर्षसम्म चूप लागेका नागरिकले ३५ दिनसम्म कुर्नुपर्ने तर्क गरे ।

बिदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनालले भने उद्योग बन्द गर्न पत्र काटिसकिएको बताए । उनले आफू कार्यालयमा काम गर्न बस्नुपर्ने भएकाले उक्त उद्योग सञ्चालनमा भए नभएको जानकारी नभएको बताए । वातावरण विभागले पनि प्रदुषण फैल्याएर त्यसरी काम गर्न नहुने बताए पनि के कारबाही हुन्छ भन्ने प्रश्नको उत्तर भने दिएन । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले अस्फाल्ट प्लान्ट सञ्चालनको कुनै मापदण्डबारे आफूलाई केही थाहा नभएको बताए । उनले थप जानकारी अध्यययन गरेर बुझेर दिने बताए ।

प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार  ७ : १२ बजे

2.55k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।