काठमाडौं । गत वर्ष काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याएमा मात्रै उठाउने ‘उर्दी’ जारी गरेको थियो ।
तर ल्याण्डफिल साइटको विवादलगायत फोहोर छान्ने झन्झटका कारण महानगरपालिकाले आफैँले घोषणा गरेको कुहिने र नकुहिने फोहोर छुट्याए मात्रै फोहोर संकलन गर्ने काम नै अगाडि बढ्न सकेन । फोहोर व्यवस्थापनको काममा अझ नुवाकोटमा बनेको ल्याण्डफिल साइटमा उपत्यकाको फोहोर व्यवस्थापन गर्न नदिने भनेपछि महानगर झनै विवादमा फसेको थियो । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले काठमाडैंको फोहोर आफूहरुको ठाउँमा राख्न नदिने भन्दै विरोध जनाएकाले काठमाडौं महानगरपालिका मेयर बालेन शाह फोहोर व्यवस्थापनमा पछि विकल्पहरु खोज्ने भन्दै तत्कालका लागि घोषणा गरेको काम गर्न पछि हटेका हुन । त्यसै कारण फोहोर बर्गिकरण गरेर ल्याए मात्रै नगरबासीको फोहोर उठाउने भन्ने घोषणा पनि महानगरपालिकाले कार्यान्वयनमा ल्याउन सकेन ।
महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावी अभियानमै सबैभन्दा बढी फोहोर व्यवस्थापनको विषयलाई मुद्दा बनाएका थिए । उनले कुहिने र नकुहिने फोहोर छुट्टै छुट्टै दिनमा संकलन गरेर व्यवस्थापन गर्ने र त्यसबाट महानगरपालिकाले आम्दानी पनि गर्ने बताएका थिए । तर उनको योजना कार्यान्वयन गर्न पुरानो संयन्त्रले निक्कै चुनौती थपिदियो ।
के हुँदैछ त फोहोर व्यवस्थापनमा महानगरपालिकाको तयारी ?
काठमाडौं महानगरपालिकाको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार महानगरपालिकाले अहिले नै फोहोरको व्यवस्थापन गर्ने कुनै निश्चित तरिका अपनाइसकेको छैन । महानगरपालिकाको टिम विभिन्न देशहरुमा फोहोर व्यवस्थापनको अध्ययन गरेर फर्किएको र त्यसकै आधारमा काठमाडौंमा पनि फोहोरको व्यवस्थापन गर्ने तयारीमा जुटेको छ ।
‘हामीले पुना (पुने) (भारत महाराष्ट्रको एक ठाउँ), इन्दोर (भारतको एक ठाउँ) र जापानको फोहोर व्यवस्थापनको अध्ययन गरेर आएका छौं’, निर्देशक श्रेष्ठले अनलाइन पानासँग भने, ‘यी मध्ये ठाउँहरु मध्ये काठमाडौंमा कुन चाहिँ फोहोर व्यवस्थापनको विधि उपयुक्त हुन्छ, त्यसको विषयमा अध्ययन भइरहको छ ।’ महानगरपालिका अहिले फोहोर व्यवस्थापन कसरी गर्ने भनेर अध्ययनकै समयमा रहेको निर्देशक श्रेष्ठको भनाई छ ।
काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले भने फोहोर व्यवस्थापनको लागि काठमाडौंको फोहोर काठमाडौंमै व्यवस्थापन गर्ने गरी तयारी हुँदैछ । त्यसका लागि चाहिने उपकरण खरिददेखि प्रविधिहरुको आयातसम्ममा महानगरपालिकाले छलफल चलाएको छ । काठमाडौं महानगरका प्रवक्ता मानन्धरले अनलाइन पानासँग भने, ‘फोहोरको व्यवस्थापनको लागि हामीले नीति नै बनाएको अवस्था छ । काठमाडौंको फोहोर काठमाडौंमै व्यवस्थापन गर्ने भनेर लागी परेका छौं । त्यहीँ अनुसार एक्पर्ट (विज्ञ)हरुसँग कुरा गरिरहेका छौं । विभिन्न इक्यिुम्पमेन्ट पनि हेरेका छौं । यसपाली ७५ करोड जति बजेट फोहोर व्यवस्थापनमा राखेका छौं । त्यसकारण फोहोर व्यवस्थापनको काम छिटो सल्टाउन हामी लाग्छौं ।’
उता महानगरका वातावरण विभागका निर्देशक श्रेष्ठले पनि फोहोर व्यवस्थापनको विषयमा महानगर छलफलमै रहेको बताए । उनले भने, ‘फोहोर व्यवस्थापनको छलफलमै छौं । नगरबासीबाटै फोहोर छुट्याउन लगाएर ल्याउने र जम्मा भएको फोहोर नछुट्टिएको अवस्थामा महानगरपालिका आफैँले पनि छुट्याउने भन्ने छलफल भएको पनि थियो । छुट्याउने काममा साउनदेखि गर्ने भनेका थियौं । तर केही कुराहरुमा हामीलाई समस्या पर्यो । जस्तै, छुट्याएर कहाँ राख्ने भन्ने भयो । हामीले ‘ट्रायल’(परीक्षणकाल)को रुपमा कम्पोष्ट मल पनि बनाउन सुरु गर्यौं । त्यसको कस्ट (मूल्य) पनि हाइ (अधिक) हुने भयो । अहिले हामी फोहोर व्यवस्थापनको विभिन्न विधिको ट्रायल(परीक्षणकाल) फेजमा छौं ।’
अहिले महानगर काठमाडौंमा के के फोहोर उत्पादन हुँदो रहेछ भन्ने विषयमा अध्ययनमा रहेको छ । महानगरमा अहिले फोहोर व्यवस्थापनका विभिन्न विधिहरुको पनि परीक्षण गरिएको छ । वातावरण विभागका महानिर्देशक श्रेष्ठ भन्छन, ‘फोहोरमा के के छ र कति फोहोर छ भन्ने डाटाको अध्ययन गर्दैछौं । त्यसपछि ‘प्रपर’ प्लान हुन्छ । केही कम्पनीले फोहोर लैजाने भनेर पनि आइरहेका छन् । छुट्याएको फोहोर कुनै निश्चित ठाउँमा राखेर बेच्ने भन्ने तयारी पनि छ । हामीले विभिन्न मोडलहरु तयार गर्दैछौं । प्लाष्टिक छुट्याएर प्लाष्टिकको दर रेट राखेर महानगरपालिकाले बेच्न पनि सक्छ । फोहोरलाई मल बनाउन पनि सक्छौं । अर्को सबै फोहोरलाई आरडिएफ (रिफ्युज डिभाइस फ्युल) बनाएर सिमेन्ट कारखानालाई पनि बेच्न सक्छौं । यी सबै अप्सनहरु खुला छ ।’
अघिल्लो वर्ष नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै फोहोर संकलन गर्ने भन्ने तयारी थियो । तर महानगरले किन अपेक्षित काम गर्न सकेन भन्ने प्रश्नमा निर्देशक श्रेष्ठले भनिन्, ‘कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन पनि गर्ने कि भनेर हामीले काम सुरु त गरेको हो । तर धेरै गाह्रो हुँदो रैछ । त्यसलाई केही विषेश क्रेनहरु, प्लान्टहरु तथा ठाउँहरु पनि चाहिँदो रहेछ । खुला राख्न मिल्दैन । खुल्ला राख्दा मल बनाउँदा पनि धेरै ठाउँ चाहिन्छ ।’
उनले विभिन्न देशमा भएका फोहोर व्यवस्थापनका मोडलहरु सबै नै ठिक भएको भए पनि कुन चाहिँ अपनाउने भनेर छलफलकै चरणमा महानगरपालिका रहेको बताए । उनले फोहोर व्यवस्थापनमा प्रविधि, स्रोतसाधन नभएका कारण चुनौति रहेको पनि बताए । महानिर्देशक श्रेष्ठले भने, ‘जुनै मोडल पनि ठिक छ । फोहोर व्यवस्थापन गर्न रिसोर्स एक्टिभिटिजमा प्रविधि, ऐन, नियम कानुन सबै मिल्नुपर्छ । हामी प्राइभेट कम्पनी जस्तौ होइनौं । ती कुराहरु ‘स्मोथ’ भएपछि राम्ररी चल्छ । फोहोरमा के के आउँछ भनेर हामी तयारी गरिरहेका छौं । कार्यपालिकाको बैठकबाट महानगरपालिको फोहोरको दिगो व्यवस्थापन गर्ने भनेर नीति नै पारित गरेका छौं । कम्पोस्टहरु त हामीले बनाएका छौं ।’
मेयर निर्वाचित भएपछि सबैभन्दा उपत्यकाको फोहोर बिसर्जन गर्ने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेर पहिलो प्राथमिकतामा फोहोर व्यवस्थापनमा जुट्ने उद्घोष गरेका मेयर बालेनले अहिलेसम्म काठमाडौंको फोहोर व्यवस्थापनको दिगो उपाय भेट्टाउन सकेका छैनन् । फोहोर व्यवस्थापनमा नुवाकोट तथा धादिङका नागरिकसँग वादविवाद र गाडीहरु समेत तोडफोडको अवस्था आयो भने सिंहदरबार भित्रको फोहोर नउठाएर मेयर बालेनले देशका राजनीतिक दलहरुलाई पनि फोहोरको विषयमा सोच्न बाध्य बनाएका थिए । तर महानगरपालिका आफैँले भने यस विषयमा अहिलेसम्म स्पष्ट व्यवस्थापनको विधिहरु औल्याउन सकेको छैन ।
प्रतिक्रिया