Logo

ओलीको सरकारविरुद्ध पूर्वराजाको शक्तिशाली प्रहार, कम्युनिस्टलाई तनाब



पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिसंग भिडदा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको बताएका छन् ।

दशैँको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्माबोध सबैमा हुनु पर्ने बताएका हुन् । उनले प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको सबैले बुझेको बताउँदै मुलुकमा अभिभावकको कमी भएको बताए ।

उनले संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदै गएको बताएका छन् ।

पूर्वराजा शाहले हर्षोल्लासका साथ दशैँ मनाउन सकिने अवस्था नरहे पनि देशभित्र र देश बाहिर बसेका समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति र सम्वृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् ।

‘हाम्रो आहार बिहार, आचार बिचार, विधि व्यवहार, शासन प्रशासन एवं पद्धति प्रणाली हाम्रै प्रकृति र संस्कृति अनुरुप हुनु पर्दछ’, उनले भनेका छन्, ‘अनि मात्रै हामी स्वस्थ, सुखी, शान्त, सुरक्षित र सम्मृद्ध हुन सक्दछौं ।’

‘आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर जब हामी व्यत्तिवाद, समूहवाद तर्फ उन्मुख हुन्छौं तब स्थिर, सुदृढ़ र सन्तोसजनक राष्ट्रीय परिणाम प्राप्त हुन सक्दैन’, उनले भनेका छन् ।

‘विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भने देशभित्र उनीहरूको श्रम, शिप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त भइरहेको छैन’, पूर्वराजा शाहले भनेका छन्, ‘देश, समाज र परिवारको मोह ममताले आएकाहरु पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ ।’

‘राहत, रोजगार र रोगको उपचार खोज्दै भौतारिएका जन समूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुश गराउन सकिएको छैन’, उनले विज्ञप्तिमा भनेका छन् । ‘दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्य बृद्धि , अभाव र गुणस्तरीयतामा ह्रास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ’, उनले भनेका छन्, ‘अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ़दो छ ।’

‘यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ’, उनले भने, ‘त्यसैले आज सबैले बढदो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।’ 

‘नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं, नेपालकै हितका खातिर नेपाली शैली अंगालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं सबैसंँग सधैं हामीले गर्दै आएको यहि आग्रह हो’, पूर्वराजा शाहले भने, ‘श्री नवदुर्गा भवानीले त्यही दीव्य शक्ति, राष्ट्रभक्ति र आत्मा प्रवृतितर्फ लाग्न हामी सबैलाई प्रेरणा प्रदान गरुन् ।’

पूर्वराजा शाहले  केपी शर्मा ओली  नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारप्रति जनताको वितृष्णा भएको जनाएका छन् ।

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  १ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।