Logo

राजनीतिकज्ञमा नैतिक शक्ति हुनुपर्छ : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् । आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गरेका हुन् ।

“विपी भन्नुहुन्छ नेताहरूको नैतिक संरचना आम जनताको संरचनाभन्दा माथि हुनैपर्छ, अर्थात् विपी नैतिक सत्ताको कुरा गर्नुहुन्छ, यो आलोकबाट हेर्यो भने आज हामीसँग प्रधानमन्त्री, अध्यक्ष र सभापति हुनुहुन्छ”, महामन्त्री थापाले भने, “विपीले हामीलाई ‘च्यालेन्ज’ गर्न के कुरामा सिकाउनुहुन्छ भने सभापतिसँग पार्टीशक्ति छ, प्रधानमन्त्रीसँग राज्यशक्ति छ तर नैतिक शक्ति हामीसँग हुनुपर्छ”

उनले पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गरे । “मलाई सबैभन्दा घातक लागेको कुरा, परिस्थितिजन्य र मनस्थितिजन्य टिप्पणीलाई हामी आफ्नो अनुकूलताअनुसार दृष्टिकोण हो भनेर भन्दिने !”, उनले भने, “यदि यसलाई राम्रोसँग नपढेर, साङ्गोपाङ्गो पढेर योसँग भएका अरु सन्दर्भ सामग्री नपढीकन यसबाट छोटो कुनै टिप्पणीका आधारमा, उद्धरणका आधारमा हामीले विपी यस्तो भन्नुहुन्थ्योे, उसो भन्नुहुन्थ्यो नभनौँ ।”

उनले विपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताए । “यो पुस्तक कांग्रेस भएर महामानव (विपी)को डायरी पढ्दैछु भन्ने होइन, मान्छे भएर मान्छेको डायरी पढ्दै छु भन्यो भने चाहिँ यसबाट धेरै कुरा सिक्न सकिन्छ”, उनले पाठकलाई सुझाव दिँदै भने ।

कांग्रेसका महामन्त्री थापाले विपीले अध्ययन गर्नुभएका वा उहाँले सिफारिस गर्नुभएका पुस्तकसमेत सङ्कलन गर्नुपर्ने बताए । यस्तै विपीले पढ्नुभएका साहित्यमा उनी स्वयंले गर्नुभएको समालोचना, पुस्तक, लेखलाई सन्दर्भ सामग्रीका रूपमा सङ्कलन गर्नुपर्नेमा थापाले जोड दिए ।

 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार २०:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।