काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने पक्का भएपछि शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
कार्की सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ (३) प्रदेशसभाको ठूलो दलको नेताको हैसियतले २२ भदौमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो । तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । जसअनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिई राजीनामा दिने घोषणा गरेका हुन् ।
कार्कीको राजीनामासँगै धारा १६८ को उपधारा (५) बमोजिमको नयाँ सरकार गठनको बाटो खुलेको छ । अब प्रदेशसभामा आफ्नो पक्षमा बहुमत देखाउन सक्ने कुनै एक सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
प्रतिक्रिया