काठमाडौं- देशभरका सबै उच्च अदालत र इजलासमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू हुने भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन उच्च अदालतबाट शुभारम्भ गरेका छन्। यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएकोमा अव स्वचालित प्रणाली लागू हुने भएको छ।
सर्वोच्च अदालतमा भने गत भदौ ११ गतेदेखि नै स्वचालित पेसी प्रणाली सुरु गरेको थियो। यो प्रणालीबाट सकारात्मक परिणाम देखिएपछि सबै उच्च अदालतहरूमा प्रणाली लागू गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।
यो प्रणालीले अदालतका कामकारबाहीलाई प्रविधिमैत्री बनाउँदै लैजाने विश्वास गरिएको छ। स्वचालित प्रणाली लागू भएपछि महिनौँसम्म पेसीको पालो नआएको भन्ने गुनासो सम्बोधन हुने विश्वास लिइएको छ।
तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो।
प्रतिक्रिया