चुनौतीको सामना गर्न आत्मविश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ। यस्तै चुनौती पार गरेकी पात्र हुन्, नर्सिङ प्रोफेसर तारा पोखरेल। उनले जीवनको ४० वर्षको ऊर्जाशील समय नर्सिङ पेसामा अर्पण गरेकी छन्। नर्सहरूको हकहितका लागि काम गर्ने नेपाल नर्सिङ संघको अध्यक्षका रूपमा काम गरेकी उनले अस्पतालमा बिरामीको सेवादेखि नर्सिङ अध्यापनसम्मको काम गरिन्।
उनले जीवन र मृत्युलाई नजिकबाट नियालेकी छिन्। क्यान्सर रोग भन्ने बित्तिकै धेरै मानिलाई अझैँ पनि डर हुन्छ। डरको सामना थोरैले मात्र गर्न सक्छन्। चुनौतीसँग जुध्दै सफलता प्राप्त गर्नेको संख्या थोरै हुन्छ।
उनको जीवनमा एक पटक नसोचेको बज्र आइलाग्यो। पोखरेललाई स्तन क्यान्सर भयो। तर, डटेर उनले स्तन क्यान्सरलाई परास्त गरिन्। अनलाइन पानाले दैनिकी र स्वास्थ्यवस्था बुझ्दा उनी निकै स्वस्थ देखिन्थिन्। हामी जाँदा उनी घरकै काममा व्यस्त थिइन्। उनी आजभोलि घरको काममामात्र व्यस्त छैनन्, क्यान्सरका बिरामीहरूलाई परामर्श गर्दै आइरहेकी छिन्। उनीसँग अनलाइन पानाका लागि भूमिका के विष्टले संवाद गरेकी छिन्।
नर्सिङ प्रोफेसर भएर धेरै वर्ष काम गर्नुभयो, पहिले र अहिले क्यान्सरको अवस्था कस्तो रहेको छ ?
म आफैँ पनि स्तन क्यान्सरको बिरामी हो। पहिले भन्दा अहिले मानिसहरू सचेत भएका छन्। अहिले स्वास्थ्य उपकरणको विकास भएको छ। स्वास्थ्य जाँच गर्दा पहिलो चरणमै पनि क्यान्सर पत्ता लगाउन सकिन्छ। पहिले नेपालमा क्यान्सरको उपचार थिएन। त्यसैले कति मान्छेको उपचार नै नपाएर मृत्यु हुन्थ्यो। अहिले धेरै ठाउँमा क्यान्सरका अस्पतालहरू छन्। जसले गर्दा बिरामीले उपचार पाइरहेकाछन्। अहिले टेक्नोलोजीले गर्दा पनि मानिसहरू निकै सचेत भएका छन्।
तपाईं आफूलाई स्तन क्यान्सर भएको कसरी थाहा पाउनु भयो नि ?
आफू नर्सिङ प्रोफेसर भएकाले पाउँदा सजिलो भएको थियो। खासगरी महिलाले महिनामा एक पटक आफ्नो स्तन आफैँ जाँच गर्नुपर्छ। त्यसैले म प्रत्येक महिना आफ्नो स्तनलाई ऐनामा हेरेर आफैँ जाँच्ने गर्थे। जाँच्नको लागि आफ्नो स्तनको आकार परिवर्तन, स्तनबाट रगत आएमा र कतै गाँठो आएको त छैन भनेर जाँच्नुपर्छ। वि. सं. २०७२ सालको कुरा हो, एक दिन मैले मेरो स्तनमा मासु पलाएको महसुस गरे। तुरुन्तै जाँच गर्न अस्पताल गए। मलाई स्तन क्यान्सर भएको रहेछ। लगतै उपचार पनि गरे।
क्यान्सर सङ्क्रमितका परिवारले काउन्सिलिङका लागि मलाई बोलाइरहेका हुन्छन्। म बेला-बेला बोलाएको ठाउँमा पुगिरहेकी पनि हुन्छु। त्यसरी काउन्सिलिङ गर्दा मलाई खुसी र सन्तुष्टि प्राप्त हुन्छ।
म प्रत्येक महिना आफ्नो स्तनलाई ऐनामा हरेर आफैँ जाँच्ने गर्थे। जाँच्नको लागि आफ्नो स्तनको आकारमा परिवर्तन, स्तनबाट रगत आएमा र त्यहाँ कतै गाँठाे आएको त छैन भनेर जाँच्नुपर्छ।
क्यान्सर भन्ने बित्तिकै धेरै मानिस डराउने गर्छन्, जीवन सकियो ठान्छन्, तपाईंलाई कस्तो अनुभूति भएको थियो ?
क्यान्सर भन्ने बित्तिकै धेरै व्यक्ति डराउने गर्छन्। घातक रोगसँग डराउनु पनि स्वाभाविक नै हो। त्यसरी डराउने व्यक्तिभित्र म पनि पर्छु। नर्सिङ प्रोफेसर भएर पनि मलाई सुरुमा डर लागेको थियो। गाउँ घरमा क्यान्सर हुने बित्तिकै ज्यान जान्छ भन्ने भ्रम थियो। म भने त्यो कुरामा सजग थिए। क्यान्सर हुने बित्तिकै ज्यान जान्छ भन्ने डर भने ममा थिएन। क्यान्सर समयमै उपचार पाउँदा निको हुन्छ भन्नेमा म विश्वस्त थिए। मेरै आमा पनि क्यान्सर भएको २७ वर्षसम्म बाँच्नु भएको थियो। आमालाई पाठेघरको मुखको क्यान्सर भएको थियो। त्यतिबेला नेपालमा यसको उपचार थिएन। हामीले भारतमा आमाको उपचार गरायौं। त्यसैले पनि मलाई साहस थपिएको थियो। डराएकी थिए, हिम्मत हारेकी थिइनँ।
तपाईंलाई क्यान्सर जित्न कति समय लाग्यो नि ?
क्यान्सर भएपछि ६ महिना उपचार मै लाग्यो। त्यसपछि किमो थेरापीमा केही समय लागेको थियो। मैले दुई वर्षसम्म औषधी खाएकी थिए। त्यसपछिको अवस्था सामान्य हुन थाल्यो।
खाने कुरामा कत्तिको ध्यान दिनुपर्थ्यो ?
आफू स्वास्थ्य पेसामा भएको हुँदा खाने कुरामा पहिलेदेखि नै ध्यान दिन्थे। तर, पनि मानवीय आचरण हो। निरोगी हुँदा चिल्लो, पिरो, अमिलो जङ्क फुड खाने गरिन्थ्यो। क्यान्सर भएपछि ५० ग्रामको जिब्रोले ६० किलोको शरीरलाई दुःख दिनु हुँदैन भन्ने कुरा झनै प्रस्ट भयो। त्यसपछि जिब्रोको स्वादभन्दा पनि खानेकुराले यस रोगलाई कसरी सामान्य बनाउँछ भन्ने कुरामा मैले ध्यान दिए। रोग लागिसकेपछि मान्छे झनै सचेत हुन्छन्।
बिहान लिटो बनाएर खान्थेँ। दिउँसो दाल-भात दाल, बेलुकी फलफूल राति रोटी खाने खान्थे। मलाई प्राय कोदो, फापरको रोटीहरू औधी मन पर्छ।
तपाईंलाई के गर्न बढी मन पर्छ ?
क्यान्सरका बिरामीहरूलाई भेट्न उनीहरूलाई हौसला दिन मन पर्छ। म बेला-बेला अस्पताल पुगेर क्यान्सर सङ्क्रमितहरूलाई भेटेर हौसला प्रदान गरिरहेकी हुन्छु। बिरामीलाई भेटेपछि आफूले क्यान्सर जितेको सुनाउँदा उनीहरूमा पनि आत्मबल बढेको पाएकी छु। क्यान्सर सङ्क्रमितका परिवारले काउन्सिलिङका लागि मलाई बोलाइरहेका हुन्छन्। म बेला-बेला बोलाएको ठाउँमा पुगिरहेकी पनि हुन्छु। त्यसरी काउन्सिलिङ गर्दा मलाई खुसी र सन्तुष्टि प्राप्त हुन्छ। म आफ्नै बारीमा विषादीरहित साग तरकारी फलाउँछु। मैले घरको छतमा करेसाबारी पनि बनाएकी छु। बाहिरको विषाक्त तरकारी भन्दा घरमै उत्पादन गरेको तरकारीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ।
प्रतिक्रिया