काठमाडौं । सर्वसाधारणको खाता खोल्ने र रकम जम्मा गर्ने एउटा बैंकको सामान्य काम हो । यहीँ सामान्य कामबाट बैंकले विदेशिने युवाबाट पैसा लिएर अनुचित लेनदेन गर्न सक्छ भन्दा विश्वास नलाग्न सक्छ । तर, नेपाल राष्ट्र बैंकको ‘क’ वर्गको बैंकले राजधानीको मुटुमै रहेको एउटा शाखाबाट यस्तो अनुचित लेनदेन गरिरहेको प्रमाण फेला परेको छ ।
अनलाइनपानालाई प्राप्त प्रमाणअनुसार सिटिजन्स बैंक इन्टरनेसनलको महाबौद्ध शाखाले कन्सल्टेन्सीसँगको मिलेमतोमा विदेश जाने युवाबाट अनुचित लेनदेन गराउँदै आइरहेको छ । बैंकको सिंगो शाखा नै एक कन्सल्टेन्सीसँगको मिलेमतोमा नक्कली बैंक ब्यालेन्स बनाएर विदेश जानखोजेका एक युवाबाट मोटो रकम असुलेको र त्यसपछिका घटनाक्रमलाई प्रमाणसहित प्रस्तुत गरेका छौं :
पहिलो दिन
कात्तिक १५ को मध्यान्हमा काभ्रेपलाञ्चोकका बैकुण्ठ सापकोटा (नाम परिवर्तन) बैंक खाता खोल्न महाबौद्धस्थित सिटिजन्स बैंकको शाखा पुगे । भक्तपुर बस्ने सापकोटाका लागि उपत्यकाका अरु पायक स्थानमा खाता खोल्नुको औचित्य थिएन । उनी जुन प्रयोजनका लागि खाता खोल्दै थिए, त्यो काम त्यो बैंकको महाबौद्धस्थित शाखाबाट मात्रै हुने खबर थियो ।
महाबौद्धको भीडभाडका बीच सिटिजन्सको त्यो शाखामा पुगेपछि उनले बैंककी एक कर्मचारीलाई नयाँ खाता खोल्ने फाराम दिन आग्रह गरे । उनको त्यो आग्रहलाई चाल पाए जसरी ती कर्मचारीले सोधिन्, ‘वान डे बैंक ब्यालेन्सको लागि हो सर ?’
सापकोटाले पनि जवाफ दिए, ‘हो । के के छ प्रोसेस ?’
ती कर्मचारीले तुरुन्तै खाता खोल्ने फाराम दिँदै भनिन्, ‘यो फर्म भर्नुहोस् । चेक भोलि मात्रै बन्छ । पैसा जम्मा गर्ने दाई साझ-साझ मात्रै आउनुहुन्छ । फर्म र डकुमेन्ट आजै छोड्नुहोस् ।’
सापकोटाले नागरिकताको फोटोकपीसहित केवाईसीको फारम भरेर बुझाए । उनलाई न्यूनतम मौज्दातस्वरुप एक हजार पाँच सय रुपैयाँ भौचरमार्फत डिपोजिट समेत गर्न लगाइयो । यो रकम चाहीँ डेबिट कार्ड र मोबाइल बैंकिङबापत तिर्नुपर्ने रहेछ । त्यसपछि भोलि आउने भन्दै सापकोटा बाटो लागे ।
सापकोटाका सपरिवार (आमा, बुवा र दिदीभिनाजु ) अष्ट्रेलियामा बस्ने भएकाले भाईटिकाको अवसर पारेर बोलाइएको थियो । यसका लागि भिषा आवेदन दिँदा बैंक खातामा पैसा जम्मा गराउनुपर्ने भएपछि उनले चिनेको साथीमार्फत न्यूप्लाजामा रहेको आर्क ग्लोबल कन्सल्टेन्सीको सहायता लिन खोजे । ती साथीका अनुसार उनले पनि यो कन्सल्टेन्सीसँग एउटा फेसबुक पेजमार्फत जोडिएका थिए । यूएसए सपोर्ट ग्रुप (बैंक ब्यालेन्स सर्टिफिकेट सपोर्ट ग्रुप) नामक पेजमा सम्पर्क गर्दा कन्सल्टेन्सीका सम्पर्क व्यक्तिको नम्बर उपलब्ध गराएको थियो ।
कन्सल्टेन्सीले उनलाई सिटिजन्सको महाबौद्धकै शाखा गएर खाता खोल्नुपर्ने शर्त राखेको थियो । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रेम प्रकाश ढकालले उनलाई एक लाख डिपोजिट देखाएबापत तीन सय रुपैयाँ लिने बताए । त्यसैले उनी खाता खोल्न महाबौद्ध पुगेका थिए ।
साझ उनलाई बैंकबाट खाता खुलेको सन्देश आयो । उनले हत्त न पत्त कन्सल्टेन्सीमा फोन गरेर प्रक्रियाबारे सोधपुछ गरे । कन्सल्टेन्सीका ती व्यक्तिले उनलाई बिहीबार अर्थात कात्तिक १६ गते साँझ महाबौद्ध आउन भने ।
दोस्रो दिन
भोलिपल्ट साँझ १५ लाख रुपैयाँ जम्मा गर्ने योजना बनाएर चार हजार पाँच सय रुपैयाँ नगद बोकेर उनी शाखा कार्यालय पुगे । उनी जाँदा चेक तयार भइसकेको रहेछ । बैंककी कर्मचारीले उनलाई ‘बाहिर दाईलाई भेट्नू’ भनेर चारवटा मात्रै पाना भएको चकेबुक हातमा थमाइन् ।
कार्यालयको द्वारमा रिसेप्सन जस्तो राखिएको डेस्कमा बसेका कन्सल्टेन्सीका प्रबन्ध निर्देशक ढकालले एउटा हातमा नोटका बिटा लिएर अर्को हातले कागजमा हस्ताक्षर गरिरहेका थिए । उनले सापकोटालाई सोधे, ‘जम्मा गर्नुपर्ने कति रुपैयाँ हो ?’
सापकोटाले सिधा जवाफ दिए, ‘१५ लाख रुपैयाँ ।’
ढकालले ‘कुन देशको लागि हो ?’ भनेर सोधेपछि उनले ‘अष्ट्रेलिया’ भने । त्यसपछि ढकालले बैंकलाई ‘एक दिनका लागि रकम होल्ड गरिदिन आग्रह’ गरेको व्यहोरासहितको निवेदनमा दस्तखत गर्न लगाए । त्यसपछि चारवटा ब्ल्याङ्क चेकमा हस्ताक्षर गर्न समेत अह्राए । खाली चेकमा गरेको दस्तखत मिले/नमिलेको हेर्नका लागि बैंकको काउन्टरमा पठाइयो । बैंकले पनि खाली चेकको हस्ताक्षर मिले/नमिलेको भेरिफाइ गरेर पठायो । त्यसपछि त्यो चेक र चार हजार पाँच सय रुपैयाँ ढकालको हातमा थमाएर उनी बिदा भए ।
तेस्रो दिन
त्यसदिन खबर आएन । भोलिपल्ट मात्रै इमेलमार्फत खातामा रकम जम्मा भएको मेसेज आयो । आइतबार उनले बैंकमा गएर एकदिने बैंक ब्यालेन्स सर्टिफिकेट प्राप्त गरे । जसलाई आधार बनाएर उनले अष्ट्रेलियाको लागि भिषा आवेदन दिए । तर उनको नक्कली बैंक ब्यालेन्सलाई अष्ट्रेलियाको दूतावासले पत्याएन ।
00000
यस घटनाको झन्डै एक महिनापछि सापकोटा सबै प्रमाणसहितको कागजात लिएर अनलाइनपानाको कार्यालय आए । उनले बैंकको संलग्नतामा आर्क ग्लोबल कन्सल्टेन्सीले कसरी अनुचित लेनदेन गरिररहेको छ भन्ने विषयमा न्यूजरुमलाई सविस्तार गराए । त्यसपछि हाम्रो रिपोर्टिङ समूह नै ग्राहक बनेर स्थलगत प्रमाण जुटाउने निधो गरि फिल्डमा खटियो । पिडित सापकोटाले भनेझैँ ग्राहक बनेर पुगेका हाम्रो टिमले पनि खाता खोल्यौं । सापकोटाले जे जे प्रकिया अपनाएका थिए हामीलाई पनि सोही अनुरुप गर्न लगाइयो ।
आर्क ग्लोबल कन्सलटेन्सीका प्रबन्ध निर्देशक प्रेम प्रकाश ढकालले बैंकको महाबौद्ध शाखामै बसेर विभिन्न माध्यममार्फत वैदेशिक रोजगारमा जानेहरूको सूचि तयार गर्ने, फोन सम्पर्क गरेर बोलाउने र सिटिजन्स बैंकको उक्त शाखामा खाता खोल्न लगाउने गरेको पाइयो । विदेश जाने व्यक्तिको खातामा बैंक र कन्सल्टेन्सी आफैँले पैसा जम्मा गर्ने, आफैँले ग्राहकको खाली चेकमा हस्ताक्षर गराउने, खाली चेकमा हस्ताक्षर भेरिफाई गराउने र बाँकी रहेको चेक आफैँले रद्द गर्ने जस्तो वित्तीय आपराधिक कार्य गरेको प्रमाणका साक्षी हामी स्वयम् बन्यौं ।
हामीले बैंकको त्यो शाखा र कन्सल्टेन्सीको मिलेमतोमा भइरहेको अनुचित लेनदेनबारे यथेष्ट प्रमाण फेला पारेका छौं । यो शाखाको मुख्य काम नै विदेशमा जाने युवाबाट पैसा उठाएर नक्कली बैंक ब्यालेन्स खोल्ने देखिन्छ ।
बैंकले अन्य कन्सल्टेन्सीबाट जानेहरुका लागि भने एक लाख बैंक ब्यालेन्स देखाएबापत बैंकले पाँच सय चार्ज लिँदो रहेछ। ९० लाखको बैंक ब्यालेन्स देखाउँदा उनीहरूलाई एकै दिनमा एकै जनाबाट ४५ हजार फाइँदा हुँदो रहेछ।
बैंकको टालटुले जवाफ
बैंकको महाबौद्ध शाखाबाट यो धन्दा पहिलेदेखि नै चल्दै आएको रहेछ। यसअघिका बौद्ध शाखाका प्रबन्धक अहिले जागिर छोडेर अमेरिका पुगिसकेका छन्। हाल उक्त शाखाको नेतृत्व रञ्जना पन्नाचनले सम्हाली रहेकी छिन्।
उनी आफैँ पनि शाखाको यस्तो खाले हर्कतबाट आजित भएको स्विकार्छिन्। ‘पहिलेदेखि नै यो शाखामा यस्तोखाले कारोबार हुँदो रहेछ। म आएको त धेरै भएको छैन। मेरो अधिकांश समय यसैमा जान्छ। अन्य काम नै गर्न पाएकी छैन,’ उनी बैंकको कमजोरी स्विकार्दै भन्छिन्।
यस विषयमा हामीले बैंकका प्रवक्ता नारायणराज अधिकारीसँग पनि बुझ्न खोज्यौं। सुरुमा बैंकले गरिरहेको अवैध धन्दाका विषयमा भने उनी जानकार विहीन जस्तै बन्न खोज्छन्। उनी आफूलाई यस विषयमा केही जानकारी नभएको भन्दै नाटकीय ढंगबाट कन्सल्टेन्सी सञ्चालक प्रेम प्रकाशलाई टेलिफोन गर्छन्। प्रेम प्रकाशले आफूले शुल्क लिएर ब्यालेन्स सर्टिफिकेट बनाइदिने र त्यसका लागि सिटिजन्स बैंकको महाबौद्ध शाखामा जानुपर्ने भनेपछि उनी नाजवाफ हुन्छन्। त्यसपछि उनले बैंकको कुनै कर्मचारीको मिलेमतो भएको हुनसक्ने भएकाले यसमा सिंगो बैंकलाई नै आरोप लगाउन नमिल्ने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिन्छन् ।
हामीले पुन: यस विषयमा बैंकको संलग्नताबारे बैंकका चिफ अपरेटिङ अफिसर रविकुमार रौनियारसँग प्रश्न गर्यौं । यस विषयमा रौनियारले आश्चर्य प्रकट गरे । उनले भने, ‘यो त सरासर गलत हो। अब हामी अनुसन्धान गरेर दोषिलाई कारबाही गर्छौं ।’
कानुनी राज्यमा खुलेआम यस्तो गम्भीर अपराध हुँदा बैंक तथा वित्तीय संस्थाको नियामक निकाय किन मौन छ ? के साँच्चै राष्ट्र बैंक यस विषयमा जानकार छैन त? कि सबै कुराको जानकारी हुँदा पनि मूकदर्शक बनिरहेको छ? हाम्रो मनमा प्रश्न उब्जियो।
जवाफ लिन हामी नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग पुग्यौं । हामीले विभागका कार्यकारी निर्देशक गुरु पौडेललाई यस विषयमा सोध्यौं। यस विषयमा उनले अनभिज्ञता प्रकट गर्दै बैंकले यस किसिमको क्रियाकलाप गर्छ भन्ने कुरा परिकल्पना पनि गर्न नसकिने बताए। उनले भने, ‘हामी अनुसन्धान गर्छौं, तपाईं पनि सबै प्रमाण राखेर एउटा उजुरी दिनुस्। कारबाही गर्न हामीलाई थप सहज हुन्छ।’
समाचार सम्प्रेषण गर्दा कन्सल्टेन्सीको धम्की
हामीले अवैधरूपमा नेपालीलाई विदेश पठाउने गरेको समाचार सम्प्रेषण गरेको विषयलाई पत्रकार सिर्जना वाग्लेलाई कन्सल्टेन्सीका प्रबन्ध निर्देशक ढकालले धम्की दिएका छन् ।
अर्थ सञ्जालकी प्रधान सम्पादकसमेत रहेकी वाग्लेले ‘सिटीजन्स बैंकको गम्भीर अपराध: कन्सल्टेन्सीसँग मिलेर मिटरब्याजको धन्दा’ शीर्षकमा प्रमाणसहित लेखेको समाचारको विषयलाई लिएर ढकालले मध्यराति ह्वाटसपमा धम्किपूर्ण म्यासेज पठाउन भ्याए । उनले लेखेका छन्, ‘आगोमा हात हालिस्, पछुताउँछेस्।’
प्रतिक्रिया