माउन्टेन इनर्जी नेपाल लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले कात्तिक २६ गतेदेखि आइपिओ निकाल्ने जनाएको छ ।
कम्प्नीले सर्वसाधारणलाई प्रतिसेयर एक सयमा कुल १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गर्ने छ । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ।
बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। कम्पनीको आइपिओमा छिटोमा मंसिर २ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म विक्री खुला गर्ने छ। मंसिर २ गतेसम्म सबै सेयर विक्री नभएमा मात्र १० गतेसम्म आवेदन दिन पाइने हो। सेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। कम्पनीले भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म स्थानियलाई सेयर विक्री गरेको थियो। कम्पनीले स्थानीयलाई जारी गरेको १९ लाख ६८ हजार २७ कित्ता सेयर कात्तिक ६ गते विहिवार बाँडफाँट समेत गरिसकेको छ। कम्पनीले स्थानीयलाई जारी गरेको सबै सेयर विक्री भएपछि सर्वसाधारणलाई विक्री खुला गर्न लागेको हो।
यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर बिक्री गरेको थियो। कम्पनीको सेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ। कम्पनीले संस्थापकबाट १ अर्ब ५७ करोड ४४ लाख पुँजी संकलन गरेको छ। स्थानीयलाई र सर्वसाधारणलाई सेयर विक्री भई चुक्ता भएपछि कम्पनीको पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार पुग्नेछ।
कम्पनीमा ८० प्रतिशत सेयर संरचना संस्थापकको रहेको छ भने सेयर बाँडफाँँटपछि १० प्रतिशत स्थानीय र १० प्रतिशत सर्वसाधारण (सामुहिक लगानी कोष र कर्मचारी)को गरी एक सय प्रतिशत सेयर स्वामित्व रहनेछ। कम्पनीको हाल निर्माणाधिन रहेको मिस्ट्री जलविद्युत आयोजनाको लागि आवश्यक रकम ५ अर्ब ६४ करोड २६ लाख मध्येको ७५५ ले हुन आउने ४ अर्ब २४ करोड बैंकबाट ऋण स्वीकृत भएको छ।
बाँकी रकम स्वपुँजी संस्थापक सेयरधनीहरुबाट चुक्ता भइसकेको छ भने जस मध्ये ३१ करोड १८ लाख ५४ हजार ४ सय तादी जलविद्युत आयोजनको निर्माणमा प्रयोग गर्ने र बाँकी रकम १ अर्ब २६ करोड २५ लाख ६७ हजार मिस्ट्री खोला जलविद्युत आयोजनाको निर्माणमा प्रयोग गर्ने कम्पनीले जनाएको छ। प्राथमिक सेयर निष्काशनबाट आएको ३९ करोड ३६ लाख ५ हजार चार सय थप हुने रकमले मिस्ट्री खोला जलविद्युत आयोजनाको निर्माणमा १४ करोड र बाँकी २५ करोड कर्जा भुक्तानी गरिने कम्पनीले बताएको छ।
प्रतिक्रिया