Logo

प्रमुख समाचार

निकुञ्जको रुखमा सुधा थापाको कब्जा, गिड रटान गरेर घर भित्र्याइयो [भिडियोसहित]



काठमाडौं- काठमाडौंमै निकुञ्जको रुखमा स्थानीयले कब्जा गरेको पाइएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४ लिपिकोटमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मातहतमा रहेको रुख सडकले काटेपछि त्यसलाई स्थानीय एक महिलाले कब्जामा लिएकी हुन्।

सडक विस्तारका क्रममा काटिएको रुखको गिड रटान गरेर स्थानीय सुधा थापाले घर लगेको पाइएको हो। सडकले ढालेर वाल विस्तार गरेपछि नेपाली सेनाले उक्त रुखको ‘मेजरमेन्ट’ गरेको थियो। तर, सोही रुखलाई कामदार लगाएर थापाले घर भित्र्याएकी हुन्।

‘थापाले कामदार लगाएर रुखको गिड रटान गरी केही गिड घर लगेको र केही गिड लग्ने तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ,’ निकुञ्ज स्रोतले अनलाइनपानालाई भन्यो।

निकुञ्जले रुख रटानमा प्रयोग भएका भीम भुजेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र उनले दिएको बयानका आधारमा अन्य व्यक्तिलाई पनि नियन्त्रणमा लिने तयारी भइरहेको जनाएको छ। भुजेलले पनि आफूहरूले रुख रटान गरेको स्विकारी सकेका छन्। तर, अहिलेसम्म पनि आफूले रुख काटेर लगेको स्विकार्ने थापा पक्राउ नपर्नु संकास्पद भएको सरोकारवालाहरू बताउँछन्।

रुख नियन्त्रका लागि गएका निकुञ्ज र सुरक्षा अधिकारीहरूसँग थापाले विवादसमेत गरेकी थिइन्। उनले विवाद गरेको भिडियो पनि अनलाइनपानालाई प्राप्त भएको छ।

‘बाटो बनाउँदा काटेर फ्याकेको रुख हामीले काट्दै गरेको हो। यसलाई फ्याँक्ने भए फ्याँक्नुहोस्, लग्ने भए लग्नुहोस्,’ उनले भनिन्। भिडियोमा सरकारी अधिकारीले राज्यको सम्पत्ति दुरुपयोग गर्नु भएन नि भन्दा उनले लैजानुहोस् भन्दै कड्किरहेको सुन्न सकिन्छ।

कुहिएर जाओस् तर निकुञ्जको सम्पत्ति छुइन पाइँदैन भन्दै कर्मचारीहरूले ती महिलालाई सम्झाइरहेका हुन्छन्। ‘निकुञ्जको एउटा झरेको पात पनि अनुमति बीना छुन पाइँदैन। त्यो कुहिएर जाओस्। मेरो जमिनमा रुख ढलेकाले अप्ठ्यारो भइरहेको छ भनेर खबर गर्नुपर्छ नि। काटेर घर लैजान पाइँदैन,’ त्यहाँ सहभागी कर्मचारीहरूले थापालाई सम्झाइरहेका हुन्छन्।

अर्का एक पुरुषले पनि निवेदन दिएर चिट ल्याएर आएर रुख काटेको दाबी गरेका छन्।

ठेकदारले ढलेको र सुकेको रुख जे गर्नुहुन्छ गर्नुहोस् भनेपछि आफूले रुखको प्रयोग गरेको थापाको दाबी छ। ठेकदारसँग ३० हजार आफ्नो लिनु रहेको बताउँदै उनले ठेकदारले भनेकै आधारमा रुख कटान गर्न लगाएको बताएकी छन्। उनले आफूले निकुञ्जको रुख नकाटेको र कारबाही गर्छु भन्दै धम्की दिनु दुखद रहेको बताएकी छन्।

स्थानीयहरूले पनि उक्त रुख निकुञ्जकै एरियामा पर्ने बताएका छन्। थापाले ढिस्को मुनी सयौं रुख पुरेको समेत बताएकी छन्। सरोकारवालाहरूले उनको बयानलाई आधार मान्दै पुरिएका रुखहरूको पनि उत्सखनन् हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति : माघ २९, २०८० सोमबार  ६ : ०१ बजे

387
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।