Logo

लुम्बिनीमा धान उत्पादनः कतै वृद्धि, कतै ह्रास



घोराही उपमहानगरपालिका–१० नारायणपुरका किसान रामसिं चौधरी यस वर्ष धेरै खुसी देखिनुहुन्छ । धान स्याहार्दै गर्नुभएका चौधरी विगतका वर्षभन्दा धेरै धान फलेकामा खुसी देखिनुभएको हो । आफ्नै १५ कट्ठामा लगाएको धान यसपालि कट्ठामा चार मुरीको दरले फलेको छ । “पोहर, परार कट्ठामा तीन मुरी मात्रै फल्ने गथ्र्यो यो वर्ष धेरै उब्जनी भयो खुसी लागेको छ”, चौधरीले भन्नुभयो । 

त्यस्तै, घोराही–५ का किसान देवीराम आचार्य पनि विगतका वर्षभन्दा यो वर्ष धान धेरै उत्पादन भएको खुसी हुनुहुन्छ । उहाँले १० कट्ठामा लगाएको धान पनि चार मुरीकै दरले फलेको छ । सिँचाइकै समस्याले दिक्क भएका आचार्यलाई यसपालि मौसमले खुबै साथ दियो । “जसोतसो रासायनिक मलको जोहो पनि अभाव हुनुभन्दा पहिल्यै गरिसकेको, मौषम र मिहिनेत पनि यस वर्ष कोरोनाले गर्दा दिन पाइयो र उत्पादन बढ्यो”, आचार्यले भन्नुभयो । गाउँका कसैकसैले युएस ३१२ जातको हाइब्रिड धान कट्ठामा पाँच मुरीसम्म फलाएको उहाँले सुनाउनुभयो । 

कोरोनाले व्यापार–व्यवसाय चौपट बनायो, अर्थतन्त्र तहस–नहस भयो, तर कृषि अर्थतन्त्र भने आत्मनिर्भरको अवस्थामा पुग्ने धान उत्पादनले देखाएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । “दाङ कृषिमा पहिले पनि आत्मनिर्भर नै थियो, तर यसपालि बिक्री गर्ने हैसियतमा पुगेको हाम्रो अनुमान छ”, कृषि ज्ञान केन्द्र घोराहीका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले भन्नुभयो । 

अहिले उत्पादन बढेको भए पनि जिल्लाको उत्पादनलाई अझै केही वृद्धि गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो । समयमा पर्याप्त मात्रामा रासायनिक मलको व्यवस्थापन र बर्सात नभएको अवस्थामा पनि नियमित सिँचाइको व्यवस्थापन गर्न सके यहाँ धानबालीको प्रशस्तै सम्भावना रहेको उहाँको भनाइ छ । 

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार अघिल्लो वर्ष दाङमा ३७ हजार ७१० हेक्टरमा धानखेती भएको थियो । त्यसमा एक लाख ६९ हजार ६९५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष दाङमा धानबाली लगाउने जग्गाको क्षेत्रफल बढेसँगै उत्पादन पनि अपेक्षित रुपमा वृद्धि भएकोे अनुमान ज्ञान केन्द्रले गरेको छ । 

यो वर्ष उपयुक्त समयमा पानी पर्नु र कृषि जनशक्तिको अभाव नहुनुले पनि धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । कार्यालयले तयार गरेको तथ्याङ्कमा यो वर्ष करीब ७८७ हेक्टर थप क्षेत्रमा धानबाली लगाइएको थियो । “यो वर्ष धेरै एरिया बढेको छ, बाँझो जग्गा प्रयोगमा आएको थियो, पक्कै उत्पादन बढेको छ”, कृषि अर्थविज्ञ श्रेष्ठले भन्नुभयो । अहिलेसम्म पालिकाले दिएको तथ्याङ्कलाई हेर्दा अनुमानित एक लाख ८० हजार मेट्रिक टन धान उत्पादन हुने देखिएको श्रेष्ठको भनाइ छ । 

परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा यस वर्ष प्रमुख अन्नबाली धानको उत्पादनमा ह्रास आएको छ । बाढी, मलबीउको अभाव, लगातारको वर्षालगायत कारणले यस वर्ष जिल्लामा धान उत्पादनमा कमी आएको कृषकले बताएका छन् । धान रोप्ने बेला पर्याप्त पानी परेकाले खुसी भएका कृषक अहिले भने उत्पादन घटेपछि चिन्तित भएका छन् । यस वर्ष जिल्लामा करीब ३० प्रतिशतले धान उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्राले राससलाई जानकारी दिनुभयो । विशेषगरी सरावल र पाल्हीनन्दन गाउँपालिकामा धान उत्पादनमा भारी गिरावट आएको उहाँले बताउनुभयो । 

पश्चिम नवलपरासीमा २१ हजार ७७५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लाभर ९० हजार ३५४ मेट्रिक टन धान उत्पादन भएको बताउँदै केन्द्र प्रमुख मिश्राले भन्नुभयो, “बाढीले डुबाउँदा धेरै धान सखाप भयो, बन्दाबन्दीका कारण कृषकले समयमा मल बीउ पाउन सकेनन् र धानमा दाना लाग्ने बेलामा वर्षा हुँदा परागशेचनमा अवरोध हुन गई धान उत्पादनमा ठूलो गिरावट आएको छ ।”

जिल्लामा सुरुमा करीब १५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिए पनि ३० प्रतिशतसम्म ह्रास आउने देखिएको उहाँको भनाइ छ । रामग्राम नगरपालिका, सरावल, प्रतापपुर गाउँपालिकालगायत जिल्लाभर नै उल्लेख्य मात्रामा धान उत्पादन हुने गरेको छ । सरावल–६ र ७ मा करीब एक हजार ५०० बिघा धानखेती बाढीले डुबाएको थियो भने पाल्हीनन्दन–१ र ६ मा गरी ६०० बिघाभन्दा बढी धानखेती डुबाएको थियो । बाढीले डुबाएको धान पूरै नष्ट भएको पाल्हीनन्दन–१ का कृषक धनपाल चौधरीले बताउनुभयो । “मैले पाँच बिघामा धान लगाएको थिएँ, गाउँभरि ४०० बिघामा धान लगाइएको तर तीन पटकसम्म आएको बाढीले सबै सखाप पा¥यो”, उहाँले भन्नुभयो । 

बाढीले क्षति नपु¥याएका स्थानमा पनि लगातारको झरीका कारण ५० प्रतिशतसम्म कमी आएको कृषकले बताएका छन् । धान पसाउने बेलामा खैरा रोगले समेत कृषकलाई सताएको थियो । दुई बिघामा धानखेती गर्नुभएका सरावल–३ गोइनीका हरिलाल यादवले यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले धान उत्पादन घटेको बताउनुभयो । धानको बाला लाग्ने समयमा पटकपटक आएको बर्सातको पानीका कारण उत्पादन घटेको उहाँको भनाइ छ । 

धान उत्पादनमा ठूलो गिरावट आएपछि कृषक चिन्तामा परेको कृषक हकहित संरक्षण मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्याय बताउनुहुन्छ । “मैले पनि एक बिघा आठ कट्ठामा धान लगाएको थिएँ, तर पानीले ढल्दा धान राम्रोसँग पाक्न सकेन, उत्पादनमा ३० प्रतिशतले ह्रास आएको छ”, उहाँले भन्नुभयो । 

जिल्लाका अधिकांश कृषकको प्रमुख आयस्रोत धानबाली नै हो । बाढीले धानबाली नष्ट गर्दा पनि स्थानीय तहबाट राहत पाउन नसकेको कृषकको गुनासो छ । बाढी र डुबानको समस्या वर्षाैंदेखिको भए पनि कृषकलाई राहत दिने विषयमा स्थानीय तहसँग पूर्वतयारी नभएका कारण राहत दिन नसकिएको जनाएका छन् । 

सरावल गाउँपालिकाले धानमा राहत दिन नसके पनि प्रभावित क्षेत्रका कृषकलाई गहुँमा ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो । गहुँको उत्पादन बढाएर कृषकलाई राहत पु¥याउने उद्देश्यले बीउबिजन तालीमलगायत प्रबन्ध गर्न लागिएको बताउँदै उहाँले भन्नुभयो, “यस पटक धानमा धेरै क्षति पुगेको छ, ६ र ७ नं वडामा बाढीले डुबाएका कारण धान नै हुन सकेन, अन्य वडामा पनि धान काट्ने बेलामा आएका हावाहुरी र पानीले क्षति पु¥यायो ।” 

पाल्हीनन्दन गाउँपालिकाले पनि गहुँमा अनुदान दिने भएको छ । धानमा क्षति व्यहोरेका कृषकलाई गहुँबाट राहत पु¥याउने गरी गाउँपालिकाले पहल थालेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले बताउनुभयो । गहुँबालीको उत्पादन बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन लागिएको उहाँले उल्लेख गर्नुभयो । पर्याप्त पानी परेका कारण यस वर्ष कृषकले समयमै धान रोपेका थिए । अहिले अधिकांश कृषकले धान भित्र्याइसकेका छन् । जिल्लामा रामधान, सावा मन्सुली, राधा ४ लगायत जातका धान लगाउने गरिन्छ । 

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ३ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।