Logo

मेडिकल काउन्सिलका रजिष्ट्रार देवको नाममा २ लाख २१ हजार बेरुजु



हेटौंडा- नेपाल मेडिकल काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिशकुमार देवको नाममा हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ लाख २१ हजार रुपैयाँ बेरुजु देखिएको छ।

प्रतिष्ठानको शिक्षाध्यक्ष रहेका बेला डा. देवले लिएको सुविधा वापतको भुक्तानीमा महालेखा परीक्षकको कार्यालयले २ लाख २१ हजार १ सय ३२ रुपैयाँ बेरुजु देखाएको थियो। महालेखाले शिक्षकको रुपमा काम नै नगरी शिक्षण गरेको सुविधामा उनले भुक्तानी लिएको र उक्त रकम असुलउपर गर्नुपर्ने सुझाव दिएको थियो।

१५ भदौ २०७७ मा प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका डा. देवले हालसम्म उक्त बेरुजू रकम नतिरेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले बताए। प्रतिष्ठानले करिब ५ महिनाअघि उनलाई भुक्तानी लिएको रकम फिर्ता गर्न पत्र काटेको थियो।

मदन भण्डारी प्रतिष्ठानको पदाधिकारी व्यवस्थापन तथा सेवासुविधा सम्बन्धी नियमावली २०७७ नियम ५० को उपनियम २ मा पदाधिकारीले प्रतिष्ठानको शिक्षकको रुपमा काम गरेमा निजलाई पदाधिकारी वा शिक्षकको तलब भत्तासमेत जोड्दा जुन बढी हुन्छ सो पाउने भन्ने व्यवस्था छ ।

डा. देवको शिक्षाध्यक्षको भन्दा शिक्षकको रुपमा तलब भत्ता बढी पाउने देखिएको थियो । महालेखाले डा. देवले शिक्षकको रुपमा काम गरेको पुष्टि गर्न संलग्न गर्नुपर्ने कक्षा तालिका, हाजिरीलगायतका कागजात संलग्न नगरी भुक्तानी लिएको जनाएको छ ।

२० जेठ २०७८ मा बसेको प्रतिष्ठानको १५ औं बैठकमा देवलाई शिक्षाध्यक्षको सुविधा दिने निर्णय नभई पदाधिकारीलाई जानकारी मात्रै दिने निर्णय भएको देखिएको महालेखाले जनाएको छ ।

महालेखाका अनुसार डा. देवले एक लाख ३३ हजार लिनुपर्नेमा २०७८ को चैत, वैशाख, जेठ र असारमा गरी चार महिना २ लाख १९ हजार ३८० का दरले भुक्तानी लिएको पाइएको छ । महालेखाले कुलमा दुईलाख २१ हजार १३२ रुपैयाँ असुलउपर गर्नुपर्ने सुझाव दिएको छ।

डा. देवले शिक्षाध्यक्षको रुपमा ७९ हजार पारिश्रमिक, मासिक २० हजार घरभाडा, पारवाहन सुविधावापत मासिक ३० हजार रुपैयाँ भुक्तानी पाउनुपर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ८ : ०४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।