Logo

प्रमुख समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने



काठमाडौं– ‘प्रि–मनसुन’ शुरु भएपछि पहिलो पटक हिजो काठमाण्डौसहित देशभर पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा पानी परेको छ।

कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भेगबाहेक देशभर पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको छ। उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ। नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको र आजदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन्।

‘प्रि–मनसुन’ मा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने, दिउँसोपछि बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित पानी पर्ने गर्छ। मार्च, अप्रिल र मे महिनालाई ‘प्रि–मनसुन’ को अवधि मानिन्छ।

यसैबीच बाक्लो हिमपातका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन्। हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड बन्द भएको छ। सडक डिभिजन कार्यालय जुम्लाले झाडनाउला, सातमोड, घुच्चीलेख, सिप्टिचौर र मुगु–जुम्ला सिमानामा पर्ने बुलबुलेमा बाक्लो हिउँ जमेकाले सडक बन्द भएकाले जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। मुस्ताङमा पनि अत्यधिक हिमपातका कारण सडक, बिजुली र सञ्चार सम्पर्कविच्छेद भएको छ।

हिमपातका कारण कोरला राजमार्ग बन्द हुँदा कोरला नाका घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन्। लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ। यस्तै सोलुखुम्बु, बाग्लुङ, रुकुम, कास्की, लमजुङलगायत जिल्लाका उच्च पहाडी क्षेत्रका स्थानीय सडक पनि हिमपातले अवरुद्ध भएका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०६:५७   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।