Logo

टिप्पणी

ख्यातिको आडमा यौनदुराचार



त्यतिबेला म सानै थिएँ । जब बजारमा टेलिभिजन आइपुग्यो । स्कुलका किताबका तुलनामा नेपाली र हिन्दी सिनेमा खुबै हेरियो ।

यसका निम्ति परिवार/अभिभावकसँग खुबै तीता-मिठा संघर्ष गर्नुपर्यो । सबैले हारे । तर सिनेमाले मन जित्यो । सिनेमाका पात्रहरू र विशेषगरी नायक महामानव लागे ।

संसारको सज्जन मान्छे भनेकै सिनेमाको नायक नै भन्ने पर्यो । त्यस्तै मानिस हुनुपर्छ भन्ने दृढ संकल्प पनि गरियो । तर कालान्तरमा बुझ्दै जाँदा सिनेमाका नायक सिनेमामा देखाइएजस्तो यथार्थमा शक्तिशाली र सज्जन नहुने रहेछन् ।

पाइलै पिच्छे बजारमा भेट्टिने सामान्य मान्छेजस्तै गुण र दोषले सम्पन्न हुनेरछन् । अब म त्यस्तो किन भइरहनु पर्यो ! त्यस्तो त म छँदैछु । उक्त संकल्पबाट मन उड्य‍ो । र, त्यो मन अलिखित, घामका पाइलाहरू, अबिरल बग्दछ इन्द्रावती, उलार हुँदै पागल बस्ती पढिसकेपछी त्यहाँ आएर रोक्कियो । मैले खोजेजस्ता असली हिरोहरू त साहित्यमा पो भेटिनेरहेछन् ।

त्यसपछि साहित्य-बजारमा पसेर खल्तीले धानेजति उपन्यास किन्दै पढ्दै गरियो । उपन्यासका पात्रहरू सच्चा मानव लागे । यी सबै कुरा बुझेर उपन्यासै लेख्ने मानिस झन महामानव लागे ।

समाजका सचेत/सज्जन तप्का भनेकै लेखक/साहित्यकारहरू हुन् भन्ने स्थानमा स्वत: म आइपुगेँ । र, मैले तिनीहरूलाई दृष्टिकोणक‍ो विशिष्टिकृत स्थानमा राखेर हेर्न थालेँ ।

तर जब समाज पितृसत्तात्मक, जातव्यवस्थामा आधारित र वर्गीय छ भन्ने चेत आयो । बिशेष ठानेको समुहमा छानवीन सुरु गरियो ।

रुढीवाद र कुसंस्कारलाई बढावा दिने, राज्यव्यवस्थाद्वारा जानाजान पिँधमा पुर्‍याइएका दलित, महिला, जनजाति, सिमान्तकृत लगायत उत्पीडित समुदायको अपमान र विरुद्धमा लेखिएका कृति र कृतिकारलाई कित्ताकाट गर्ने क्रमको थालनी गरियो ।

जसमा उतिबेला अत्यन्तै महामानव लागेका पनि परे; मन कुडियो । यो क्रम निरन्तर चल्नुपर्थ्यो; चलिरह्यो ।

एकदिन रन्जु दाहालको संस्मरण `केटा साथी´ पढ्न पुग्छु । त्यसले मेरो विश्वासको धरातलमा ठुलै हलचल ल्याइदिन्छ । परिणामत: लेखक/साहित्यकार प्रतिको मेरो दृष्टिकोणमा निर्मम समिक्षा गरिरहेकै बेला `चियामा भेटौँ न´ भनेर एकजना महिला कवि साथीको फोन आउँछ । हामी साहित्यको बिषयमा नै घण्टौँ गफ्फिन्छौँ ।

जे भएपनि लेखक/साहित्यकार नै यो समाजका असल मानिस हुन् भन्ने मेरो आशयमा गम्भीर भएर उहाँले मलाई रोक्दै भन्नुहुन्छ,”पिलिज एसबि जी! तपाईं यो खाल्डोमा आएको धेरै भएको छैन । तपाईं गोष्ठीतिर पनि जानू हुन्न, मानिसहरूलाई पनि भेट्नुहुन्न, संगत गरेर हेर्नुहुन्न; खाली बन्द कोठामा बसेर बाहिरबाट हेरेकै भरमा दृष्टिकोण बनाउनुहुन्छ । यो ठिक छैन; तपाईं आफ्नो धारणा बदल्नुस् । म पनि तपाईंजस्तै थिएँ पहिले । यथार्थ फरक छ; मलाई अहिले सबैभन्दा धेरै डर यस्तै मानिससँग लाग्छ । मैले आदर्श ठानेका अग्रजहरूले नै ममाथि यौनवादी दृष्टिकोणले हेरिदिदा छाँगाबाट खसेजस्तै भएको छु । मेरो आस्था डगमगाएको छ । मलाई डर लाग्छ अचेल । म यस्ता मानिसहरूबाट टाढै बस्न चाहान्छु । सम्झिनुस्, अक्सर ख्यातिप्राप्त मानिसहरू नै बहुरुपी हुन्छन् । तसर्थ तपाईं आफ्नो धारणा बदल्नुस् ।”

उहाँले छुट्टिनेबेलासम्म त्यस सम्बद्ध आफ्ना अनेक भोगाइहरू सेयर गर्नुभयो । कविताका कखरा टेकेर हिँड्दैगर्दा आदर्श मानेका अग्रजहरूबाट नै यौन दुर्व्यवहार भएका किस्साहरू सुनाउनुभयो ।

उहाँको कुराले मलाई निकै गम्भीर बनायो; त्यो साँझ म निकै घोत्लिएँ । समाजले मानेका/ख्यातिप्राप्त मानिसहरूमा नै ठूलो शंकाको दृष्टिकोणले हेर्नुपर्ने छ भने अरुमा के छ?

रङ्गमञ्च झन बदनाम छ । त्यहाँका गसिपहरूले बजार तताइरहन्छन् । पात्रको भूमिकामा देखिनेहरू नै निर्देशक र निर्मातासँग सम्बन्ध बनाउनुपर्छ भन्दै मिडियामा आएर बोल्ने गरिरहेकै हुन्छन् । पर्दाको हिरोइजम कस्तो भन्ने त नाबालिक गायिका बलात्कार प्रकरणले स्पष्ट पारिसकेकै छ ।

यसरी स्टार्डमको आडमा हुने यौनदुराचारका घटना असङ्ख्य छन् । नाबालिक बलात्कार मुद्दामा त कथित स्टारहरू अभिनेता शाह र क्रिकेटर लामिछाने त भित्र बसेर आइसकेका छन् ।

ख्यातिको आडमा हुने यौनहिंसा कतिसम्म गहन हुन्छ भन्ने कुरा मलाई त झन तब राम्रोसँग बोध हुन्छ, जब एक मध्यरात चिनेकै नम्बरबाट एउटा एमएएस आउँछ । जसमा लेखिएको हुन्छ:

“झोलाभरी सपना भरेर म काठमाडौं आइपुग्दा बीस बर्ष केटेकी थिएँ । नौलो ठाउँ, भिन्नै परिवेश र अपरिचित मान्छेहरूसँग म अज्ञात थिएँ । मैले चिनेको त मसँग मेरो सपना मात्रै थियो । म हरेक समय उसैसँग हुन्थेँ । कलेज जानू, आउनु र ममीसँग फोनमा कुरा गर्दै निदाउँनु मेरा दैनिकीहरू थिए । समय सधैँ उसैगरी चलेन । ममाथि एकजनाको नजर परेछ । म उसको टार्गेटमा परेँछु । उसले मलाई मिसन बनाएछ । उसले आफ्नो मिसन सफल पार्न कुनै कसर बाँकी राखेन । म गलेँ । ऊ आज आफ्नो उद्देश्य अनुरुप मलाई लुटेर गइसकेको छ । म जस्तो थिएँ, त्यस्तो रहिनँ । उसले मलाई बर्बाद पारेर गएको छ । अब मसँग केही बाटाहरू छैनन् । ढोका थुनेर र सास थुनेर रुने/छट्पट्टिने धेरै भइसक्यो मबाट । म बाँधजस्तै जबर्जस्ती यो हालतमा थुनिएकी छु; यो नेचर विपरीत भएको छ; मलाई गाह्रो भएको छ । म फुट्न चाहान्छु । म चिच्याउन चाहान्छु । म बोल्न चाहान्छु । तर मेरो स्वर/क्रन्दन उसको ख्यातिले सुन्ला भन्ने डर छ । म जोगिन चाहान्छु, बिझाउने उसको ख्यातिदेखि । म रुन चाहान्छु, मेरो पीडा सक्किनेगरी । यो रङ्गमञ्चको असली रङ मैले चिन्न सकिन । म लुटिएँ । म आफ्नो आफुलाई र आफ्नो अस्तित्वलाई गुमाएर र उत्पीडन सहेर बाँच्न सक्दिनँ । मसँग मेरा धेरै सपनाहरू छन् । म मर्न चाहान्न । तर उसले मलाई पलपल मारिरहेको छ । बचाउ मलाई ।”

दुखेको बेला चिच्याउन सक्नुपर्छ भनेर सिकाउने मान्छे हुन उनी । रोएर बोली बसेको बोलीमा, बोली लगाउन पुग्ने मानिस हुन् उनी । अन्याय सहनुहुन्न, चुप बस्नु हुन्न, प्रश्न गर्नुपर्छ भन्ने मान्छे हुन् उनी ।

यौनहिंसाका पीडितको पक्षमा/पीडकको विरुद्धमा बोल्ने मान्छे हुन् उनी । तर यो मध्यरातमा सुक्सुकाउँदै उनी नै भनिरहेकी छन्:- “यो समाजले असल-पात्र करार गरेको ख्यातिप्राप्त मानिसबाट ममाथि हिंसा/बलात्कार भएको भएको छ । जसका विरुद्ध बोल्न मेरो सास भास्सिएको छ । म थुनिएर मर्दैछु । बचाउ मलाई ।”

जसरी एउटा उनीजस्तो सक्षम मानिस त्यो स्तरको उत्पीडन सहेर हिडिरहेकी रहेछिन् भन्ने कुराले म अचम्मित भएको थिएँ, पीडकको नाम सुन्दा दोब्बर अचम्मित भएँ । लामो निस्वास आयो – यहाँ कसको भर गर्ने? बेथिति विरुद्ध बोल्ने ट्याग भिरेको मानिसले नै यो नीति लिएको रहेछ ।

मनोबैज्ञानिक इ.बि. हर्लकका अनुसार मानव विकासका नवौं चरणमध्ये आठौं चरणमा टेकिसकेको उसको परिपक्वता गजबको छ ।

सायद आठौं चरणको बिशेषताबाट यति चैँ बुझ्न भ्यायो/उसले यति चै ज्ञान प्राप्त गर्यो कि – अठार बर्ष उमेर नकटेकालाई हाम्रो कानुनले नाबालिक मानेको छ, संरक्षण गर्छ; त्यता हात बढाए डढिन्छ । तसर्थ अठार कटेका उसको टार्गेटमा पर्छन् । जसलाई संरक्षण कसले गर्छ?

पावर, पहुँच, पैसा खल्तीमा हालेर जातव्यवस्था र राज्यव्यवस्थाको टुप्पोमा भएका सिनेमाका नायक, स्टेडियमका खेलाडी, किताबका लेखक, कविताका कवि र पत्रिकाका पत्रकार/कार्टुनिष्टहरू आठहजार बर्ष लामो उत्पीडित सहेर आएका महिलाहरूलाई साम-दाम-दण्ड-भेद प्रयोग गरेर वस्तुकरण गर्ने, कलिला नानीहरूलाई टार्गेटमा पार्ने, शरीरसँग खेल्ने र डम्प गरेर हिड्ने भएपछि, उनीहरूको जिन्दगीलाई कार्टुन सम्झिने भएपछि र संरक्षण गर्नुपर्ने राज्यसत्ता मुकदर्शक मात्रै बन्नुपर्ने अवस्था भएपछि यहाँ छोरीको जिन्दगी र स्थिति के छ ? छर्लङ्ग पार्छ ।

उक्त घटना यसअघि सार्वजनिक हुन खोजेको तर पीडितलाई नै ह‍ोस्टाइल गरेर गुपचुप बनाइएको रहेछ ।

घटनाक्रम केलाउदै जाँदा पछि झन थाहा हुन्छ- उक्त कथित सेलिब्रेटीको धन्दा र ऊ बाट पीडितहरूको लस्कर । जो भयावह छ ।

तर समाजमा उसले बनाएक‍ो नाम र पहुँचको अगाडि क‍ो बोल्न सक्छ? सक्दैन । बरु ढोका थुनेर, कसैले सुन्छ कि भनेर मुख बुझेर रुनसक्छ ।

काउन्सिलिङ/ थेरापी जानसक्छ । स्वास्थ्य अवस्था फिर्तीको निम्ति दुआ गर्नसक्छ । तर पहरासँग को जुध्न सक्छ? कसरी प‍ो सक्छ? पितृसत्तात्मक राज्यव्यवस्थाले हुर्काएको छोरी लुटिन मात्रै सक्छ, लुट्नेको नामसम्म पनि कसरी भन्न सक्छ ? उसले बचेको त्यहि सासलाई पनि दाउमा कसरी लगाउनसक्छ?

छोरीहरूलाई धक फुकाएर रुनेसम्मको वातावरण निर्माण गरेका रहेनछौँ हामीले ।

वस्तुत: पल शाह र क्रिकेटर लामिछानेको मुद्दा छताछुल्ल भएपछि समाज एउटा बहसमा उत्रियो,- बलात्कार के हो ? बलात्कार कस्तोलाई भन्ने?

बृहत्तर हिस्साले भन्यो कि,- “कपडा च्यात्तिनु, चिच्याउनु, शरीरमा घाउ देखिनु र त्यसपछि तत्कालै दौडेर केश गर्न जानू बलात्कार हो । त्यस उताको बलात्कार होइन । दुई दिनपछि केस गर्न जानू पनि, कुरा नमिलेर त्यसलाई बलात्कारको नाम दिनु हो । त्यो पनि बलात्कार होइन ।”

पितृसत्तात्मक व्यवस्थाले निर्माण गरेको हामी, निर्माण गरिदिएको हाम्रो दृष्टिकोण/सामाजिक परिवेश र हाम्रो चेतनास्तर यहीँसम्म मात्रै हो त?

बलात्कारका आयामहरूको बारेमा मनोविद्, समाजविद् र कानुनविदहरू जोड-जोडले कराउँदा पनि किन बहिरो बन्छ त यो समाज र किन बहिरो बन्छन् यहाँ मान्छेहरू ? – पितृसत्ता र पितृसत्ताले महिलालाई दिएको हैसियत ।

यसर्थ शाह र लामिछाने मुद्दालाई अध्ययन गरिसकेपछि र यतिबेलाको पीडितलाई भेटिसकेपछि । प्रश्न खडा हुन्छ- मौजुदा कानुन अप्रयाप्त छ । स्टारडमको आडमा बलात्कृत अठार बर्ष एक दिन उमेर पुगेकी छोरीलाई संरक्षण गर्ने हैसियत कहिले राख्छ ?

अत: पितृसत्तात्मक समाजले छोरीहरूलाई कसरी हुर्काएको छ? छोरीको योनीमा कुलको इज्जत राखिदिएको छु भन्दै-भन्दै हुर्काएको छ ।

पति देवता हो, खुट्टा धोएको पानी खानुपर्छ, व्रत बस्नुपर्छ, उसलाई पुजा गर्नुपर्छ भन्दै-भन्दै हुर्काएको छ । ऊ बाहेक दोस्रो पुरुषलाई हेर्नू पतन हुनु, नर्कको बाटो तताउनु हो भन्दै-भन्दै हुर्काएको छ ।

जन्मदेखी मृत्युुपर्यन्त आफ्नो शरीरमा एक छोडी दुई पुरुषको हात पर्नु अपवित्र हुनु हो भन्दै-भन्दै सिकाएको छ । तसर्थ अनेक तरिकाबाट हुने हिंसा र बलात्कारको बारेमा उनीहरू एकै तरिकाबाट पनि बोल्न सक्दैनन् । त्रसित हुन्छन् ।

किनकि श्रीमानलाई देउता र श्रीमतीलाई सती ठान्ने समाजले सुरुमै उसको चरित्रमाथि अौँला उठाउँछ । उसको पवित्राको सर्टिफिकेट खोज्छ । उसको बोल्ने मुखमा औँला लिएर जान्छ ।

तसर्थ केही दिन अघि मात्रै आफुमाथि बलात्कार भयो भन्दै रुखमा झुन्डिदै गरेकी एउटी युवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियोे । त्यो के को परिणाम हो? नदि किन उल्टो बगिरहेको छ ? त्यसकै कारण होइन ?

छोरालाई बहादुर र छोरीलाई कोमलको संज्ञा दिदै हुर्काउने समाजले छोरीलाई कहिलेसम्म कमजोर बनाइरहन चाहन्छ? किन छोरीलाई छोरा बराबरको हैसियत दिएर हुर्काउन चाहादैन ? किन छोरीलाई नि:शस्त्र बनाइरहन चाहान्छ ? किन आफ्नै जन्मप्रति पश्चाताप बोध गराउने ठाउँमा पुर्‍याउँछ? किन म अर्को जन्ममा छोरा भएर जन्मियौँ भन्ने बनाउँछ?

`मेरा पनि भाइकाजस्तै सपना छन् । म पनि भाइजस्तै सक्षम छु, सक्छु´भन्दा साथ छोड्ने परिवारसँग बिद्रोह गरेर सपना खोज्न घरबाट निस्किएका छोरीहरूलाई च्याँखे थापेर किन लुट्छ यो शहर ? किन लुट्छन् तिनै कमजोरहरूलाई यो शहरका सेलिब्रेटीहरू?

किन टार्गेट गरि-गरि निमोठ्न चाहान्छन् पलाउँदै गरेका मुनाहरू नै समाजमा प्रतिष्ठित कहलिएकाहरू पनि? एकभन्दा अर्कोले शरीर छुनसाथ मर्नपुग्ने मानसिकता दिएर छोरीलाई हुर्काउने समाजले बढीभन्दा बढी स्त्री खेलाउने उद्देश्य सहित हिड्ने पुरुषको जन्म कसरी दिन सक्यो? यो गहन अनुसन्धान र बहसको बिषय हो ।

 देवता र देवत्वरणमा विश्वास गर्ने यो समाजले, पतिलाई देउताको संज्ञा दिने हाम्रो धर्मले, छोरीलाई स्वर्ग र नर्कको पाठ सिकाउने यी अभिभावक र गुरुहरूले हत्तपत्त छोरीलाई पतिको-सती वाला मान्यताबाट बाहिर निकाल्दै उत्पीडन पहिल्याउनसक्ने ज्ञान, आत्मरक्षा र अधिकारका निम्ति लड्नसक्ने बिद्रोही चेतना र आफुमाथि विद्यमान पुरुष अधिनायकत्वको बिरुद्ध लड्ने लडाकु बन्नदिने छाँटकाँट अझै देखिदैन ।

दोब्बर उमेरको ख्यातिप्राप्त पुरुषले आफुमाथि मन्दबिष दिएर शृङ्खलाबद्व रुपमा आफुलाई लुट्दै र बर्बाद गराउँदै आएको स्थितिमा पनि ठूलो स्वरले रुन नसक्ने ठाउँमा जसरी उनी पुग्नुपर्यो, त्यसरी नै अझै कति छोरीहरू लुटिएपछि/झुन्डिएर मरेपछि त्यस्ता यौनपिपासु अपराधीको समाजबाट सफाया हुने हो ?

उनीजस्ता अझै कतिजना बलि चढिसकेपछी त्यस्ताहरूलाई नाङ्गेझार बनाएर सबैले चिन्ने दिन आउने हो? समाज सुधारक, प्रगतिशील र न्यायप्रेमी जत्थाहरूको अगाडि यो गम्भीर प्रश्न छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार ११:२०   :  बजे

2.433k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।