Logo

सवारी साधनको नम्बर प्लेट नेपालीमा राख्न माग 



नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेट नेपालीमा राख्न पाउनुपर्ने माग राखेको छ । सर्वोच्च अदालतले अङ्ग्रेजी भाषा मात्र राख्न  हालै जारी गरेको आदेशप्रति परिषद्ले आपत्ति जनाएको हो ।
परिषद्ले एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढुङ्गले प्रहार गरेर ध्वस्त पार्ने र यसको अस्तित्वलाई धरासायी बनाउन षड्यन्त्रमूलक तरिकाले आएको भन्दै  आरोप लगाएको छ । परिषद्को सोही विज्ञप्तिमा अध्यक्ष डिल्लीराम अर्यालले हस्ताक्षर गरेका छन् । 
विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषा हाम्रो मौलिकता, राष्ट्रियता, संस्कृतिका साथै अस्तित्वको संवाहक हो । भाषाको गरिमालाई नजरअन्दाज गर्दै समय समयमा राष्ट्रियता कमजोर पार्न, जातीय गौरव र संस्कृति मेटाउन तथा विशेषगरी भाषामाथि प्रहार गर्ने काम परचक्रीबाट हुँदै आएको छ, विदेशी आयातित भाषाका आडमा राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषामाथि निर्मम ढङ्गले प्रहार गरिँदै आएको इतिहास साक्षी छ ।”

विज्ञप्तिमा नेपालभर सञ्चालन हुने कुनै पनि सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिनुको कुनै प्रयोजन र औचित्य पुष्टि हुन नसक्ने जनाउँदै उक्त राष्ट्रघाती फैसलालाई तुरुन्त बदर गरी नेपाली भाषामा नै नम्बर प्लेट राख्ने प्रावधानलाई कडाइका साथ लागु गर्न माग गरिएको छ ।

प्रकाशित मिति : भाद्र २५, २०७७ बिहीबार  १२ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।