Logo

प्रिमियर लिग: म्यानचेस्टर सिटी र लिभरपुल ले बराबरी खेल्दै अङ्क बाँडे



म्यानचेस्टर सिटीका खेलाडी केभिन डे ब्रुएनाले पेनाल्टी गुमाएपछि प्रिमियर लिगमा सिटीले लिभरपुलसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

सिटीको घरेलु मैदान इतिहाद भएको खेलमा  १३औं मिनेटमा मोहमद शालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । सिटीका केल वाल्करले साडियो मानेलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो र सालाहले सहजै गोल गरे । तर लिभरपुलले उक्त अग्रता लामो समय टिकाउन सकेन र खेलको ३१औं मिनेटमा गाब्रीएल जेससले सिटीका लागि बराबरी गोल फर्काए ।

४२औं मिनेटमा सिटीले अग्रता लिने अवसर गुमायो । भिएआर मार्फत लिभरपुलका जोसेफ गोमेजले पेनाल्टी एरियामा बल ह्याण्ड गरेको पुष्टि भएपछि सिटीले पेनाल्टी पायो । केभिन डे ब्रुएनाको प्रहार गरेको पेनाल्टी पोष्ट भन्दा बाहिर गयो र जित हात पार्ने अवसर गुमायो ।

त्यसपछि बाँकी रहेको खेलमा थप गोल हुन सकेन र सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि लिभरपुलले शीर्ष स्थानमा फर्कने अवसर भने गुमायो । यता ८ खेलबाट १७ अंक जोडेको लिभरपुल र टोटनहम समान अंक भए पनि गोलअन्तरमा पछि रहँदै तेस्रो स्थानमा छ । सिटी ७ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ ।

यसअघि हिजो भएका खेलहरुमा वल्भसलाई १-० ले पराजित गरेको लेस्टर सिटी ८ खेलबाट १८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ भने वेष्टब्रोमलाई १-० ले पराजित गरेको टोनहम दोस्रो स्थानमा छ । 
उता लण्डन क्लब आर्सनल एस्टन भिल्लासँग ३-० ले पराजित भएको छ । एस्टनभिल्लाका लागि ओली वाट्किन्सले दुई गोल गरे भने आर्सनलका बुकायो साकोले एक आत्मघाती गोल गरे । जितपछि एस्टनभिल्ला ७ खेलबाट १५ अंक जोड्दै छैटौं स्थानमा छ । आर्सनल ८ खेलबाट १२ अंकसहित ११औं स्थानमा छ ।

प्रकाशित मिति : कार्तिक २४, २०७७ सोमबार  ११ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।