Logo

सात करोड भन्दा बढी मत प्राप्त गर्दा पनि डोनल्ड ट्रम्प हार्नुका कारणहरु



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि असक्षम प्रमाणित भएका छन् । अर्थात् उनले राष्ट्रपति चुनावमा बाइडेनविरुद्ध हार ब्यहोरेका छन् ।पछिल्लो २८ वर्षपछि पहिलो पटक कुनै अमेरिकी राष्ट्रपति पहिलो कार्यकाल पछि नै घर फर्किनेछन् भने ति हुन्, ट्रम्प । राष्ट्रवादी छवि बनाउँदै अत्यधिक मत पाएर पनि ट्रम्प पराजित भएका छन् । तर, किन ? अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा सात करोडभन्दा बढी मत प्राप्त गरेका छन् जुन त्यहाँको इतिहासमै दोस्रो ठूलो मतसङ्ख्या हो ।

कुल खसेको मतमा उनले ४७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् एवम् उनले ठूला फ्लोरिडा र टेक्सससहित २४ राज्यमा जितेको देखिन्छ । देशको केही भागमा ट्रम्पको असाधारण पकड देखिन्छ । तर उनी पराजित भएका छन् । धेरैले यति धेरै मत पाउँदा पनि ट्रम्प किन हारे भन्ने प्रश्नको उत्तर खोजी गरिरहेका छन् । ‘किन चाउरिस मरिच आफ्नै राग’ले भने झैं ट्रम्पको हार उनले लिएका नीति र अतिवाद नै प्रमुख कारण मानिएको छ ।

ट्रम्प हार्नुको मुख्य कारणः

१. आक्रामक शैली

ट्रम्प कार्यकाल सुरु भएदेखि नै राष्ट्रवादी छाप छोड्न सफल भए । उनले अरुको कुरामा खास ध्यान नदिने र आफ्नै अडान राख्दै लिने हरेक निर्णय अपरिपक्व हुने गर्दथे । पार्टीभित्र मात्र नभई नागरिकले समेत उनको त्यो रबैया र आक्रामक शैलीलाई खासै रुचाएनन् । जसले उनका मतदाता नै उनीबाट टाढा भए । त्यति मात्र नभई उनको पकड मानिएका स्थानमै उनलाई कम मत प्राप्त भयो ।

२. जातीय मुद्दालाई बढावा

अमेरिका त्यही देश हो, जहाँ मार्टिन लुथर किंगले गोरा र काला वर्णका मानिस दाजुभाई जसरी बस्ने कल्पना गरेका थिए । हालसम्म अमेरिकामा कालो र गोरो वर्ढाबीच कुनै अप्रिय घटना भएका थिएनन् । तर, ट्रम्प प्रशासनमा जातीय मुद्दा धेरै उठे ।

अश्वेत मानिसलाई ब्यंग्य हानियो । केही दमनमा परि मारिए । हजारौं मानिस सडकमा ओर्लिए । तर, त्यसलाई रोक्न भन्दा पनि थप आक्रोशित बनाउन ट्रम्पको ट्वीटरबाट दिइएको अभिव्यक्तिले पनि उनी अलोकप्रिय बन्न पुगे । जसको फाइदा डेमोक्रेट्सले उठायो र चुनावी नारा नै त्यही बनायो । र त अहिले पनि अमेरिकामा ‘ब्ल्याक लाइभस् म्याटर’ भन्ने नारा घन्किन छोडेको छैन ।

३. कोरोनाबारे फैलाइएको भ्रम र लाखौंको मृत्यु

कोरोना भाइरसलाई चिनिया भाइरस भन्ने ट्रम्प पहिलो पात्र हुन् । देशभर संक्रमित बढीरहँदा र १ लाख मृत्यु हुँदा पनि यसलाई सामान्य मान्ने ट्रम्पका कारण र उनका अनुयायी नै संक्रमणको भुंग्रोमा परे । उनी आफै संक्रमित भए तर, जनतासँग आफूँ नै सही हो भन्ने सावित गराउन लागिपरे । लाखौंको मृत्यु हुँदा पनि सहानुभूति जनाउन नसक्दा भावनात्मक रुपमा नागरिकसँग जोडिन सकेनन् । र, यो पनि उनको हारको कारण बन्यो ।

४. चीनसँगको व्यापार युद्ध

चीनसँग व्यापार युद्ध मात्र नभई चीनले देख्नै नसक्ने ट्रम्पको प्रवृत्तिले अमेरिकी अर्थतन्त्रमा नराम्रो धक्का पुग्यो । चिनियाँ सामग्रीलाई बहिस्कार गर्ने गरि अघि सारिएका नीतिले अन्ततः अमेरिकी अर्थतन्त्र डामाडोल बन्न पुग्यो । तर, फेरि व्यापारिक पाटोमा चीनसँगै छलफल गर्ने दोहोरो चरित्रले पनि राष्ट्रवादी छवि बनाउन मात्रै ट्रम्पले नागरिक प्रयोग गरिरहेको भन्दै आलोचना हुन पुग्यो । जसको असर अहिले चुनावमा देखियो ।

५.युवापुस्तामा पैदा भएको वैमनस्य

प्रविधिमा सबैभन्दा धेरै अभ्यस्त मुलुक हो, अमेरिका । त्यसमाथि युवापुस्ताको आकर्षण हुने नै भयो । तर, ट्रम्पले युवा पुस्तालाई रोजगारी दिलाउने पाटोमा थप काम गर्न सकेनन् । त्यतिमात्र नभई विभिन्न एप्स्माथि प्रतिबन्ध, विश्वका ठूला कम्पनीसँग शत्रुता मोल्दा युवा पुस्तामा आकर्षण भन्दा विकर्षणको पात्र बन्न पुगे ट्रम्प । टिकटक, ह्वाट्सएप, अलिबाबा लगायतका कम्पनीलाई पेल्ने नीतिले अन्ततः उनैलाई ‘आकाशमा हेरेर थुके बराबर’ भयो ।

६.अन्तर्राष्ट्रिय सम्बन्ध

चीनसँग मात्र नभई अन्य मुलुकसँग पनि अमेरिकाको सम्बन्ध राम्रो हुन सकेन । इरानी सर्वोच्च कमाण्डर करिम सुलेमानीको हत्याले उत्पन्न युद्धको परिस्थितिले पनि विश्वभरका मुलुकसँगको सम्बन्ध बिग्रियो । सिरिया, रुस, जापानसँग उनको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन ।

युरोपियन यूनियनमाथि थोपर्न खोजेको हैकम, पेरिस सम्झौताबाट अलग्गिने घोषणाले पनि उनलाई इलाइट वर्गको मत जान सकेन । उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग ऐतिहासिक छलफल र वार्ता गरे । उत्तरकोरिया र दक्षिण कोरियाको सीमामा पुगेर भेट गरे तर, त्यसको फाइदा लिन सकेनन् । बरु, उत्तर कोरियासँग बनेको भनिएको सम्बन्ध पनि बिग्रिन पुग्यो ।

यि बाहेक अन्य थुप्रै कारण छन्, ट्रम्पको पराजयका कारण । इतिहासमै सर्वाधिक मत खसेपनि यस निर्वाचनमा डेमोक्रेटहरुले सोचे जसरी ट्रम्पविरोधी लहर चलेन । राष्ट्रपतिमा पराजित भएपनि सिनेटमा रिपब्लिकनको दबदबा कायमै छ । जसले बाइडेनलाई कार्यकाल अघि बढाउन समस्या उत्पन्न गर्नेछ नै । उनी पराजय भएपनि अमेरिकामा ट्रम्पवाद भने जीवित राख्न सक्नु ट्रम्पको मुख्य सफलता नै हो ।

धेरै मतदाताले आफुुसँग सम्बन्ध रोज्ने एक वा दुुईवटा नीतिगत एजेन्डाका आधारमा ट्रम्पलाई मतदान गरेको देखिन्छ । नयाँ राष्ट्रपतिको टुुंगो लागेपनि सिनेटमा कसको बाहुल्यता रहने भन्ने अझै टुंगिएको छैन । अर्को कुरा स्पष्ट छ– बाइडेनले जितेपनि डोनाल्ड ट्रम्प र रिपब्लिकनहरुले निर्वाचन अघिका सर्वेक्षण र पूर्वानुमानहरुलाई चुनौती दिएका छन् ।

ट्रम्पले मलजल गरेको ‘स्वेत सर्वोच्चतावाद’ नामक सामाजिक विभाजनको बिऊ अमेरिकी समाजमा वनमारा झार जसरी नै फैलने खतरा देखिएको छ । त्यही मत ट्रम्पले पाएका छन् ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार