Logo

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु  



काठमाडौं, चितवन, नवलपरासी(पश्चिम), बारा, सिरहा र डोटीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ थानकोटस्थित सडकमा हाल नम्बर नखुलेको बसको ठक्करबाट बाजुरा माहादेवस्थान घर भएका ४० वर्षीय नबिन लोहारको मंगलबार बिहान मृत्यु भएको छ । तरकारी बोकेर हिँडिरहेको अवस्थामा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएका लोहारको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो । बस सहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । 

 चितवन, ईच्छाकामना गाउँपालिका-५ शान्ति बजारस्थित सडकमा ना.७ ख ४२०६ नम्बरको तेल ट्याङकरले बा.९९ प ३०९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं नागपोखरी बस्ने २२ वर्षीय पदम विक्रम थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-५ बनकट्टीस्थित सडकमा लु.१ ख ७१८३ नम्बरको माईक्रोबसले लु.१२ प ७८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सरावल गाउँपालिका-१ बासा बस्ने ३६ वर्षीय अनिल पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जेनश अस्पताल बुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माईक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 बारा, पचरौता नगरपालिका-९ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित तियर खोलामा खस्दा चालक रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ । 

 यसैगरी बारा, करैयामाई गाउँपालिका-५ तेतरियास्थित पुलमा ना.२२ प ६८५४ नम्बरको मोटरसाइकल अनियन्त्रित पुलबाट खसेर सोमबार राति दुर्घटना हुँदा सोही गाउँपालिका-३ गालोपटी बस्ने २२ वर्षीय संदेश साह तेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि न्यूरो अस्पताल वीरगंज पठाइएको छ ।
 
 सिरहा, अर्नामा गाउँपालिका-४ स्थित सडकमा स.३ प ७७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार लहान नगरपालिका-८ बस्ने ६० वर्षीय राम बिलास साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

 डोटी, दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला गाउँ बस्ने ७० वर्षीया पिकेश्वरी विकको से.५ प ९४६९ नम्बरको मोटरसाइकलले मंगलबार बिहान ठक्कर दिँदा मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार