Logo

दैलेखमा नेपाल टेलिकमको फाइवर नेटवर्क सेवा सुचारु 



नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । 
गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशमा पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गर्ने काम नारायण नगरपालिका पहिलो हो । 

हाल सो क्षेत्रमा जम्मा १०२४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइन समेत वितरण गरिएको छ । सो नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५२१ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ । 

यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ । नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ ।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार