Logo

कर्णाली प्रदेश

“तत्काल संविधान संशोधनको काम थाल्नुपर्छ” : महामन्त्री गगन थापा



नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनको काम तत्काल सुरु गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

मंगलबार बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै थापाले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको पालना गर्न संविधान संशोधन अपरिहार्य भएको बताए।

“अब एक पार्टीले बहुमत ल्याउने व्यवस्था आवश्यक छ,” थापाले भने, “गठबन्धनबाट सरकार बनाउने अभ्यासले देशलाई अप्ठेरोमा पारेको छ। स्थायित्वका लागि संविधान संशोधनको विकल्प छैन।”

थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको संरचना सुधार्न खर्च कटौतीमा ध्यान दिनुपर्ने धारणा राखे। उनका अनुसार उपराष्ट्रपति, उपसभामुखजस्ता पदहरू र संघ तथा प्रदेशमा मन्त्रीहरूको संख्या घटाएर खर्च घटाउन सकिनेछ।

“संघमा १० देखि १५ र प्रदेशमा तीनदेखि पाँच जना मात्र मन्त्री बनाए पुग्छ,” उनले तर्क गरे। महामन्त्री थापाले अहिलेको संघीयता सुधार्न संविधानमै संशोधन आवश्यक भएको भन्दै संघीयताको संरचना जनताको हितमा पुनःव्यवस्थित गर्नुपर्ने बताए।

उनले गणतन्त्र र संघीयता कमजोर भएको भ्रम फैलाउनेहरूलाई लक्षित गर्दै भने, “राजसंस्था कहिल्यै संवैधानिक थिएन। जनताको असन्तुष्टिलाई बहाना बनाएर उत्तेजना फैलाउने काम भइरहेको छ।”

थापाले नेपाली कांग्रेस स्पष्ट रूपमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको र कांग्रेसलाई राष्ट्रिय शक्ति बनाउने दिशामा काम भइरहेको उल्लेख गरे।

सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, मैकुलाल वाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल लगायतले पनि गणतन्त्र कमजोर नभएको र यसको सशक्त कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार २१:४२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।