Logo

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सुरु



प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी २ दिवसिय कार्यशाला गोष्ठी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बिहीबार शुरु भएको छ ।

            उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले सोही प्रतिष्ठानमा आयोजित एक समारोहबीच गोष्ठीको उद्‍घाटन गरेका थिए ।

            सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले पाठ्यक्रमको म्यानुअललाई अन्तिम रुप दिन गोष्ठीको आयोजना गरिएको जानकारी दिँदै म्यानुअलले उक्त तालिमलाई सहज तरिकाले अगाडि बढाउन मद्दत पुर्‍याउने बताए । यसले नेपाल प्रहरीको प्रशिक्षण कार्यको लामो इतिहासलाई व्यावसायिक र निश्चित फर्म्याटमा रहेर सबै प्रशिक्षण संस्थामा एकै प्रकारको व्यावसायिक तालिम प्रदान गर्ने विश्वास उहाँले व्यक्त गरेका छन् ।

            सो अवसरमा काठमाडौं युनिभर्सिटी स्कूल अफ एजुकेशनका एसोसिएट डिन प्रा.डा. लक्ष्मण ज्ञवालीले म्यानुअल निर्माण प्रक्रियाबारे जानकारी दिँदै प्रहरी सहायक निरीक्षक आधारभूत तालिम प्रदायकलाई विस्तृत रुपमा निर्माण भएको यस म्यानुअलले पूर्ण सहयोग गर्ने बताए ।

            उक्त कार्यशाला गोष्ठीमा विभिन्न प्रहरी कार्यालयका २० जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ । 

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार