काठमाडौं । जेष्ठ प्राध्यापक समाजले चाडपर्व विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको शैक्षिक विकासमा योगदान पुर्याउने सात अग्रज व्यक्तित्वलाई सम्मानित गरेको छ ।
शुक्रबार बागबजार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा समाजले कानुन विषयको शैक्षिक उन्नयनमा समर्पित अग्रज व्यक्तित्व वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मानित गर्यो ।
समाजले त्यसैगरी शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्याउने प्रा.डा. बज्रराज शाक्य, प्रा. शिवमान जोशी, प्रा.डा. सर्वज्ञभक्त मल्ल तथा प्रा. कोमलबदन मल्ल, प्रा. नुतनबहादुर थपलिया र प्रा. प्रेमलता तुलाधरलाई सम्मानित गरेको छ । स्वास्थ्यका कारण उपस्थित हुन असमर्थ प्रा. थपलिया र प्रा. तुलाधरलाई घरमै गएर सम्मानपत्र प्रदान गर्ने समाजले जनाएको छ ।
कार्यक्रममा समाजका अध्यक्ष डा. विमलकुमार शर्माले समाजले गर्दै आएका कामहरूबारे जानकारी गराउँदै ९० वर्षको उमेर पार गरिसकेका अग्रज व्यक्तित्वहरूको सम्मान गर्न पाउँदा समाज आफैं सम्मानित भएको अनुभूति भएको बताए ।
आफूहरू टिमवर्कमा विश्वास गर्ने भन्दै प्राप्त सुझाव र सल्लाहअनुसार समाजलाई अझै अगाडि बढाउने उल्लेख गरे । वरिष्ठ अधिवक्ता भण्डारीले हरेकलाई शिक्षित बनाउनु पर्नेमा जोड दिँदै आज पनि आफूले वकिलहरूलाई सिकाइरहेको बताए ।
उनले शैक्षिक उन्नयनमा लाग्न सबैलाई प्रेरित गरे । उक्त अवसरमा सम्मानित प्राध्यापकहरूले यस किसिमको सम्मानले यो उमेरमा पनि उर्जा मिलेको बताए । समाजका महासचिव प्रा.डा. सिद्धिप्रसाद कोइरालाले संस्थागत गतिविधिको चर्चा गरे ।
उक्त अवसरमा प्रा. महेन्द्र सिंह, डा. वीजेन्द्रध्वज जोशी, सपना जोशी, दीनदयाल रेग्मी, तिमिला यमी, नारायण जोशी, किशोर गौतमलगायतका प्राध्यापकहरूले शुभकामना दिँदै समाजको कामको प्रशंसा गरे ।





















प्रतिक्रिया