काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले युद्धविराम र बन्धक रिहाइ योजना स्वीकार गरेको दाबी गरेका छन् । उनले गाजा युद्ध अन्त्यका लागि आफ्ना सर्तहरू मान्न हमासलाई अन्तिम चेतावनी पनि दिएका छन् ।
ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै सबै बन्धकलाई घर फर्काउन चाहेको र युद्ध समाप्त भएको हेर्न चाहेको बताएका छन् । उनले इजरायलीहरूले उनका सर्तहरू स्वीकार गरिसकेको बताउँदै अब हमासका लागि पनि यो स्वीकार गर्ने समय आएको बताए ।
उनले हमासलाई स्वीकार नगरेको खण्डमा हुने परिणामबारे चेतावनी दिँदै यो उनको अन्तिम चेतावनी भएको प्रष्ट पारेका छन् ।
यद्यपि, ट्रम्पको के सर्तहरू हुन्, त्यो भने उल्लेख गरेका छैनन् । तर, इजरायलको च्यानल १२ ले रिपोर्ट गरेअनुसार यो योजनाले युद्धविरामको पहिलो दिन सबै बन्धकहरूलाई रिहा गर्ने र त्यसपछि विस्तृत वार्ताअगाडि बढाउने परिकल्पना गरेको छ ।
यसको बदलामा, इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ र गाजा सहरमा आफ्नो अग्रगामी सैन्य कारबाही रोक्नेछ ।
टाइम्स अफ इजरायलका अनुसार, वार्ता ट्रम्पको प्रत्यक्ष निगरानीमा हुनेछ । जबसम्म वार्ता जारी रहन्छ, युद्धविराम पनि कायम रहनेछ ।
इजरायलले औपचारिक रूपमा आफ्नो स्वीकृति पुष्टि नगरे पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग नजिकको एक स्रोतले सरकारले यो प्रस्तावलाई धेरै गम्भीरतापूर्वक विचार गरिरहेको बताएको छ ।
बन्धक र बेपत्ता परिवार फोरमले यो सम्झौतालाई सम्भावित ठूलो सफलता भन्दै इजरायललाई यसलाई समर्थन गर्न आग्रह गरेको छ ।
हमासले भन्यो – तत्काल वार्ताको टेबलमा बस्न तयार छौँ
ट्रम्पको अन्तिम चेतावनीपछि हमासले वक्तव्य जारी गरेको छ । वक्तव्यमा जनतामाथिको आक्रमण अन्त्य गर्ने, गाजा पट्टीबाट पूर्णरूपमा फिर्ता हुने र गाजा पट्टी सञ्चालन गर्नका लागि स्वतन्त्र प्यालेस्टिनीहरूको एक समिति गठन गर्ने स्पष्ट घोषणाको बदलामा सबै कैदीहरूको रिहाइबारे छलफल गर्नका लागि तत्काल वार्ताको टेबलमा बस्न तयार भएको भनिएको छ ।
टाइम्स अफ इजरायलले हमासको बक्तव्यलाई उदृत गर्दै लेखेको छ, “हाम्रा जनतामाथिको आक्रमण रोक्न मद्दत गर्ने कुनै पनि कदमलाई हमास स्वागत गर्छ ।”
हमासले यी विचारहरूलाई आफ्ना मागहरू पूरा गर्ने एक सम्झौतामा परिणत गर्न मध्यस्थकर्ताहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएको छ ।
विपक्षी नेता याइर लापिडले मध्यस्थकर्ताहरूको प्रयासका बाबजुत पनि नेतन्याहूको सरकारले वार्तामा ढिलाइ गरिरहेको आरोप लगाउँदै आएका छन् । टाइम्स अफ इन्डिया





















प्रतिक्रिया