काठमाडाैं । चौधरी ग्रुप (सीजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोस्टर “Unshaken : Unstoppable” ले छोटो समयमै जनमानसको ध्यान खिच्न सफल भएको छ । देशको वर्तमान चुनौतीपूर्ण परिवेशलाई दृष्टिगत गर्दै तयार पारिएको यस पोस्टरले दृढता, प्रतिबद्धता र आशाको सन्देश प्रवाह गरेको छ ।
पोस्टरमा निर्वाण चौधरीलाई आत्मविश्वासपूर्ण र अठोटसहित उभिएको मुद्रामा देखाइएको छ, जहाँ पृष्ठभूमिमा आगलागी, ध्वस्त सवारीसाधन, अधुरा संरचना तथा निर्माणमा व्यस्त श्रमिकहरूको दृश्य समावेश गरिएको छ । यी सबै प्रतीकहरूले देशले सामना गरिरहेको कठिन परिस्थितिलाई चित्रण गर्नुका साथै निर्माण र पुनर्निर्माणको प्रक्रिया झल्काएका छन् ।
पोस्टरमा समावेश नेपालका राष्ट्रिय झण्डा र हिमालको छायाले राष्ट्रिय पहिचान, गौरव र आत्मविश्वासलाई अझ गहिरो रूपमा जोडेको छ । यो चित्रणले कठिनाइका बीच पनि राष्ट्र निर्माणको बाटोमा अगाडि बढ्न सकिने सन्देश दिन खोजेको स्पष्ट देखिन्छ ।
पोस्टर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भएको छ । हजारौंले लाइक गरेका छन् भने सयौं प्रयोगकर्ताले प्रतिक्रिया जनाउँदै यसलाई सेयर गरेका छन् । धेरैले चौधरी ग्रुपको व्यवसायिक सफलताको कथा, नेपालमा रोजगारी सिर्जना तथा लगानी विस्तारका योजनासँग यस पोस्टरलाई जोडेर हेरेका छन् ।
विज्ञहरूकाअनुसार, यो पोस्टर केवल ब्राण्ड प्रवर्द्धनको प्रयास मात्र नभई नयाँ पुस्तामा उद्यमशील सोच र नेतृत्व क्षमताको प्रेरणा दिनेसमेत भएको छ । सर्वसाधारणदेखि व्यवसायिक क्षेत्रका विश्लेषकहरूले समेत यसलाई अस्थिरता र चुनौतीबीच अघि बढ्ने आत्मबलको प्रतीकका रूपमा व्याख्या गरेका छन् ।





















प्रतिक्रिया