Logo

अन्तर्राष्ट्रिय

क्रेमलिनले ओस्लो र कोपेनहेगनमा ड्रोन घटनामा संलग्नता अस्वीकार



काठमाडौं । रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले ओस्लो र कोपेनहेगनमा हवाई यातायात अवरुद्ध गर्ने दुई ड्रोन घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । यी घटना मंगलबार बिहानसम्म चलेका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार आफ्नो दैनिक प्रेस ब्रिफिङमा रूसी संलग्नताको आरोप आधारहीन भएको बताएका छन्, द मस्को टाइम्सले उल्लेख गरेको छ ।

उनले पत्रकारहरूलाई भने, “बारम्बार आधारहीन आरोप लगाइँदा त्यस्ता बयानहरूलाई अब गम्भीरतापूर्वक लिइँदैन ।”

सोमबार साँझ करिब ८ः३० बजे कोपेनहेगन एयरपोर्टनजिकै दुई वा तीनवटा ड्रोन देखिएका थिए, जसले करिब चार घण्टासम्म अवतरण र उडान रोकेको थियो । अर्को ड्रोन मध्यराततिर ओस्लो एयरपोर्टनजिक देखिएको थियो, जसले करिब ३ः२२ बजेसम्म हवाई यातायात अवरुद्ध गरेको थियो ।

दुवै घटनामा कुनै पनि ड्रोनलाई रोकिएको वा खसालिएको छैन । नर्वेली तथा डेनिस अधिकारीहरू यी दुई घटनाबीच सम्बन्ध छ वा छैन भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।

डेनिस प्रधानमन्त्रीले रूसको संलग्नतालाई अस्वीकार गर्न नसकिने बताएका छन् । फाइनान्सियल टाइम्सका अनुसार, प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले यसलाई डेनमार्कको महत्वपूर्ण पूर्वाधारमाथि भएको अहिलेसम्मकै गम्भीर आक्रमण भन्दै रूसको संलग्नतालाई अस्वीकार गर्न नसक्ने बताएकी छिन् ।

उनले थपिन्, “यो हालै देखिएका अन्य ड्रोन आक्रमण, हवाई क्षेत्र उल्लंघन र युरोपेली एयरपोर्टहरूमा भएका साइबर आक्रमणसँग मेल खान्छ ।”

गत हप्ता एक साइबर आक्रमणले धेरै प्रमुख युरोपेली एयरपोर्टहरू प्रभावित पारेको थियो, जसले व्यापक ढिलाइ र उडान रद्द गराएको थियो । तर, यसको स्रोत अझै पत्ता लाग्न सकेको छैन ।

यी पछिल्ला घटनामा क्रेमलिनको संलग्नता अस्वीकार नेटो हवाई क्षेत्रमा भएका अनेकौँ उल्लंघनबारे दिएको प्रतिक्रियासँग मिल्दोजुल्दो भएको बताइएको छ । सेप्टेम्बर १० को बिहान मात्रै पोल्यान्डमा कम्तीमा १९ वटा ड्रोन प्रवेश गरेको थियो । शुक्रबार फिनल्यान्ड खाडीमाथि एस्टोनियाली हवाई क्षेत्रमा तीनवटा मिग–१३ लडाकु जेट घुसेका थिए ।

द मस्को टाइम्सका अनुसार, एस्टोनियाका विदेश मन्त्री मार्गस त्सहक्नाले शुक्रबारको घटनालाई क्षेत्रीय र विश्वव्यापी रूपमा रूसद्वारा गरिएको आक्रामक वृद्धिको व्यापक ढाँचाको अंश भएको बताएका छन् ।

क्रेमलिनले सोमबार एस्टोनियाको आरोपलाई खोक्रो र आधारहीन भन्दै यस्तो व्यवहारले केवल तनाव बढाउने र टकरावपूर्ण वातावरण सिर्जना गर्ने बताएको छ । यो रूसविरुद्धको अवरोधमूलक नीतिको निरन्तरता मात्र भएको क्रेमलिनले प्रतिक्रिया दिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार ०८:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।