सन् २०२१ को अगस्टमा अमेरिका अफगानिस्तान छाडेपछि तालिबानले सत्ता कब्जा गरेको थियो । त्यतिबेला राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका अशरफ गनी मुलुक छोडेर भागेका थिए । यससँगै दुई दशक लामो अमेरिका समर्थित शासनको अन्त्य भएको थियो । त्यही समयमा तालिबानका एक प्रभावशाली कमाण्डरका रूपमा अमीर खान मुत्ताकीले ठूलो भूमिका खेलेका थिए ।
अमीर खान मुत्ताकी १९९० को दशकदेखि नै तालिबानको उदयमा सक्रिय थिए । उनले तालिबानको सैन्य, प्रशासनिक र कूटनीतिक भूमिकामा जिम्मेवारी सम्हालेका थिए ।
मुत्ताकी मूलत: हेलमन्द प्रान्तका हुन् । अफगान जिहादको समयमा उनी कम्युनिष्ट शासनविरुद्धको लडाइँमा सक्रिय थिए । १९९४ मा तालिबान उदाएपछि उनी त्यसमा सहभागी भए र कमाण्डरका रूपमा तालिबानको एजेन्डा लागू गर्न अगाडि बढे ।
तर, मुत्ताकीका गतिविधिहरू मानवअधिकार उल्लंघन, आतंकवादलाई समर्थन र महिला–बालबालिकाको अधिकार दमनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो चिन्ता पैदा गरेको थियो ।
संयुक्त राष्ट्रले २५ जनवरी २००१ मा उनलाई प्रतिबन्धित घोषणा गरेको थियो । यो प्रतिबन्ध संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १२६७ (१९९९) र १३३३ (२०००) अन्तर्गत लागु भएको थियो ।
तालिबान प्रशासनमा रहँदा मुत्ताकीले महिला अधिकार र बालबालिकाको शिक्षामा कट्टरपन्थी नीति अपनाएका थिए । तालिबानको पहिलो शासनकालमा उनी शिक्षा मन्त्री बनेका थिए । उनले बालिकाको शिक्षा पूर्ण रूपमा प्रतिबन्ध लगाएका थिए । स्कूलहरूलाई कट्टरपन्थी मदरसामा बदल्ने नीति ल्याएका थिए ।
१९९६ तिर संस्कृति मन्त्री हुँदा उनले मिडियामा सेन्सरसिप लगाएका थिए । पश्चिमी संस्कृतिमाथि पनि उनले प्रतिबन्ध लगाए । तालिबानको कट्टर नीति लागू गर्न उनले सक्रिय भूमिका खेलेका थिए ।
यिनै गतिविधिका कारण संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उनीमाथि सन् २००१ मा प्रतिबन्ध लगाएको थियो, जसमा विदेश भ्रमणसमेत रोक लगाइएको थियो ।
तर अब भारत सरकारको अनुरोधमा संयुक्त राष्ट्रले २४ वर्षपछि ९ देखि १६ अक्टोबरसम्म भारत यात्रा गर्न उनलाई अस्थायी छूट दिएको भारतीय मिडिया आजतकले जनाएको छ ।
ध्यान दिनुपर्ने कुरा के हो भने भारतले अझै तालिबान सरकारलाई औपचारिक मान्यता दिएको छैन । तर, अफगानिस्तानको राजधानी काबुलमा भारतले आफ्नो कूटनीतिक कार्यालयमार्फत व्यापार, सहायता र स्वास्थ्यसम्बन्धी सहयोग उपलब्ध गराइरहेको छ ।
१७ आश्विन २०८२, शुक्रबार १५:३१
108
Shares

















प्रतिक्रिया