काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा सामाजिक अभियन्ता डा. तोसिमा कार्कीले विदेशमा रहेका नेपाली नागरिकहरूका मतदान अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा पत्र दर्ता गरेकी छन्। उनले २०७९ असोज २२ गते दर्ता गरिएको पत्रमार्फत तीनवटा मुख्य मागहरू अघि सारेकी छन्।
डा. कार्कीले लेखेकी छन्, “नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई मतदान गर्ने मौलिक अधिकार प्रत्याभूत गरेको छ। तर आयोगले हालसम्म आवश्यक पूर्वाधार निर्माण र प्रणाली विकास नगरेकाले हजारौं नेपाली नागरिक यो अधिकारबाट वञ्चित भइरहेका छन्।”
उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै तीन विषयमा तत्काल कदम चाल्न आग्रह गरेकी छन्—
पहिलो मागः
गोगोमिक (Geographic) दूरी र भौगोलिक कठिनाइका कारण मतदान गर्न असहज भएका दुर्गम जिल्लाहरूमा Multipurpose केन्द्र स्थापना गर्नुपर्ने माग गरेकी छन्।
उनले लेखेकी छन्, “डोटी, बाजुरा, हुम्ला, मुगु, रुकुम, बझाङ, डोल्पा, मनाङ, मुस्ताङजस्ता जिल्लाका नागरिकहरूलाई मतदान गर्न नजिकै केन्द्र नहुँदा समस्या हुन्छ। स्थानीय तहको सहकार्यमा यी जिल्लामा आवश्यक मतदान केन्द्र र बायोमेट्रिक प्रणाली स्थापना गर्न आवश्यक छ।”
दोस्रो मागः
नगरपालिका, गाउँपालिका र जिल्लास्तरीय प्रशासनिक कार्यालयमा नागरिकता, राहदानी र मतदाता नाम दर्ता लगायतका सेवा उपलब्ध गराउनुपर्ने सुझाव दिएकी छन्।
उनका अनुसार, निर्वाचन अवधिमा मात्रै होइन, स्थायी रुपमा पनि यी सेवा केन्द्रहरूलाई व्यवस्थित गर्नुपर्छ, जसले स्थानीय नागरिकलाई सजिलो हुने बताएकी छन्।
तेस्रो मागः
विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले तत्काल नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको जोड छ।
डा. कार्कीले लेखेकी छन्, “विदेशमा रहेका लाखौं नेपालीले देशमा योगदान दिइरहेका छन्। उनीहरूलाई मतदान अधिकारबाट वञ्चित राख्नु असंवैधानिक र अन्यायपूर्ण हो।” उनले प्रविधिको प्रयोगमार्फत विदेशबाट पनि सुरक्षित रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गरेकी छन्।
पत्रमा उनले संविधानको धारा १७, ८४ र २८६(७) को उल्लेख गर्दै नेपाली नागरिकको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्नु आयोगको संवैधानिक जिम्मेवारी भएको बताएकी छन्।
डा. कार्कीले अन्त्यमा लेखेकी छन्, “निर्वाचन आयोगले तत्काल आवश्यक कार्यविधि र निर्देशन तयार गरी कार्यान्वयनमा ल्याओस् भन्ने हाम्रो अनुरोध छ।”
उक्त पत्रमा आयोगको दर्ता नम्बर १९२५ उल्लेख छ। आयोगले पत्र प्राप्त गरेको पुष्टि गर्दै छानबिन प्रक्रिया अघि बढाउने बताएको स्रोतले जानकारी दिएको छ।
डा. तोसिमा कार्की हाल देश तथा विदेशमा रहेका नेपालीहरूको राजनीतिक अधिकार र समान सहभागिताको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएकी छन्। उनका अनुसार, “मतदान नागरिकको अधिकार हो, सुविधा होइन — त्यसैले जहाँसुकै रहेका नेपालीले मत दिन पाउनुपर्छ।”





















प्रतिक्रिया