Logo

इजिप्टमा सैनिक हेलिकप्टर दुर्घटना



 इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा ७ सैनिकको मृत्यु भएको छ । इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा ५ अमेरिकी सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा ८ सैनिक गम्भीर घाइते भएका छन् ।

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको पनि ज्यान गएको छ । मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन् । केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ ।

एक जना इजिप्टका सैनिक अधिकारीका अनुसार उक्त हेलिकप्टर इजिप्टको सीमाभन्दा बाहिर लाल सागरमा दुर्घटना भएको थियो । घाइते सैनिकहरुलाई उद्धार गरी इजरायलस्थित शहर इलातमा ल्याइएको इजरायली सेनाले जनाएको छ । केन्द्रले हेलिकप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको देखिएको छैन ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार