नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा छँदा लोडसेडिङ अन्त्यका लागि गरेका कामबाट वाहवाही पाएका कुलमान घिसिङ जेन–जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बने ।
२१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै हाल उनी नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् । वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्छ भन्दै छलफल चलाइरहेका कुलमान अन्य पक्षसँगको सम्भावित मिलनबिन्दु कठिन हुने संकेत पाएपछि आफैं एकल प्रयासमा पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।
रास्वपासँगको संवाद बीचमै अलपत्र परेपछि कुलमानले छुट्टै दल दर्ता गर्ने तयारी गरेको उनीनिकट स्रोतले पुष्टि गरेको छ । ‘सम्भवतः बल्ब चुनाव चिह्नसहित उज्यालो नेपाल पार्टी नै प्रयोग हुनेछ,’ कुलमाननिकट एक नेताले भने, ‘यो चुनाव चिह्न लिएर जाँदा ब्रान्डिङ गर्नसमेत सजिलो हुने अपेक्षा छ ।’ यो दल दर्ताका लागि निर्वाचन आयोगमा गत असोजमै निवेदन परिसकेको छ । कुलमाननिकट स्रोतका अनुसार, दलको नेतृत्वमा आफू नै अगाडि आउने कि सदस्य मात्र रहेर अघि बढ्ने भन्नेमा चाहिँ टुंगो लागिसकेको छैन । ‘ऊर्जा मन्त्रालयको जिम्मेवारीमा पनि हुनुहुन्छ, चुनावको मनोनयन दर्ताअघि मन्त्रीको जिम्मेवारी छाड्ने कि नछाड्ने भन्ने हो,’ स्रोतले भन्यो, ‘यस विषयमा उच्च तहमा समेत छलफल गरेर उहाँले निर्णय लिनुहुन्छ ।’ अहिलेलाई तत्काल मन्त्रालय नछाडी नयाँ पार्टी गठनको प्रक्रियामा अघि बढ्ने पक्षमा कुलमान रहेको स्रोत बताउँछ ।
पछिल्लो समय उनले नयाँ पार्टी गठनका लागि विवेकशील साझा पार्टी पृष्ठभूमिको एक समूह र रक्षा बमको नेतृत्वको नेपाल जेन–जी फ्रन्टसँग समेत संवाद गरिरहेका थिए । तर, उनीहरूले कुलमानको पार्टीको नाम र चुनाव चिह्नमा सहमति जनाएका थिएनन् । एउटा व्यक्तिलाई मात्र केन्द्रित गरेर दल बनाउँदा भविष्यमा कठिन अवस्था आउन सक्ने उनीहरूको बुझाइ थियो । विभिन्न तहमा भएका संवादमा रहेका एक नेताले कुलमान आफ्नो पार्टीको नाम र चिह्नबाट पछि हट्न नमानेको बताए ।
२१ कार्तिक २०८२, शुक्रबार ०८:१७
48
Shares



















प्रतिक्रिया