नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात खुलाएकामा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासङ्घको टोलीले आज सिंहदरबारमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्रालयमै पुगेर महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले तत्काल मह आयात रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाली मह उत्पादनको मौसम सुरु भएका बेला नेपाली मह खरिदको व्यवस्था मिलाउनुपर्नेमा आयात गर्न दिँदा नेपाली मौरीपालक किसान पलायन हुने भन्दै निवर्तमान अध्यक्ष पौडेलले तत्काल निर्णय फिर्ता लिएर महको बजारीकरणमा उचित निर्णय लिन मन्त्री परियारको ध्यानाकर्षण गराए ।
सो क्रममा मौरीपालक किसानहरुले महको आयात रोक्न, आयातित महमा भन्सार बढाउनेसहित किसानका लागि कर्जा सहुलियत, भरपर्दो बिमाको व्यवस्था, सिँचाइका लागि विद्युत्मा सहुलियतलगायतका माग पनि राखेका छन् ।
गत असोज २७ गते बहुराष्ट्रिय कम्पनी डाबर नेपाल, पतञ्जलीका प्रतिनिधिलगायत केही किसान प्रतिनिधिसहितसँग मन्त्री परियारले छलफल गरी मह आयात गर्न दिने निर्णय गरेका थिए ।
सो क्रममा कृषिमन्त्री परियारले पूर्वसहमति अनुसार नै एक पटकका लागि मह आयात गर्न दिइएको जानकारी दिँदै आगामी दिनमा महासङ्घका प्रतिनिधिसहितको छलफलपछि मात्रै निर्णय लिने आश्वासन दिए।
२४ कार्तिक २०८२, सोमबार २१:३१
27
Shares




















प्रतिक्रिया