भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक शनिबार साँझ भएको कार विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएका छन्। विस्फोट साँझ करिब ६:५२ बजे गेट नम्बर–१ बाहिर रेड लाइटमा रोकिएका सवारीसाधनबीच भएको दिल्ली प्रहरीले जनाएको छ।
दिल्ली अग्नि नियन्त्रण सेवाका अनुसार साँझ ६:५५ बजे विस्फोट भएको खबर प्राप्त भएपछि सातवटा दमकल घटनास्थलमा पठाइएको थियो। विस्फोटपछि कम्तीमा छ वटा गाडीमा आगो लागेको र वरिपरिका सवारीसाधनमा पनि क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
दिल्लीका प्रहरी आयुक्त सतीश गोलचाले घटनास्थलमा पुगेर पत्रकारहरूलाई भने, “विस्फोटन हुँदा गाडीहरूमा यात्रुहरू थिए। तत्कालै हाम्रो सम्पूर्ण संयन्त्र—एफएसएल, एनआईए र एनएसजी टोली परिचालन गरिएको छ। विस्फोटको कारणबारे अनुसन्धान जारी छ र छिट्टै विस्तृत जानकारी दिनेछौँ।”
विस्फोटपछि सुरक्षा निकायहरूले लालकिल्ला परिसर र वरिपरि क्षेत्रमा कडा सुरक्षा सतर्कता अपनाएका छन्। गृहमन्त्रीलाई लगातार जानकारी दिइरहेको दिल्ली प्रहरीले जनाएको छ। यसबीच, केही घाइतेहरूलाई एलएनजेपी अस्पताल पुर्याइएको छ।
प्रत्यक्षदर्शी राजधर पान्डेले भने, “हामीले छतबाट आगोको ठूलो लप्का देख्यौँ, भवनको झ्यालसम्म हल्लिएको थियो।” स्थानीय व्यापारी वलीउर रहमानका अनुसार विस्फोटको आवाज निकै शक्तिशाली थियो, “तीन पटकसम्म म भुइँमा ढलेँ, सबै मानिसहरू त्रासमा थिए,” उनले भने।
विस्फोटको वास्तविक कारणबारे अहिलेसम्म स्पष्टता आएको छैन। यद्यपि, केही दिनअघि नै भारतीय प्रहरीले फरिदाबाद नजिकको एउटा अपार्ट्मेन्टबाट ठूलो परिमाणमा विस्फोटक सामाग्री बरामद गरेको थियो। उक्त ठाउँबाट करिब ३०० किलोग्राम विस्फोटक, एके–४७ राइफल र गोलीगठ्ठा फेला परेको थियो।





















प्रतिक्रिया