Logo

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता डिसेम्बर अन्तिममा हुने: क्यान



प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय (पिएम) कप प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी थालेको छ ।

कोरोना महामारीसँगै झण्डै बिगत ९ महिनादेखि शून्य नेपाली क्रिकेटलाई पिएमकप मार्फत फर्काउन खोजेको अध्यक्ष चतुरबहादुर चन्दले बताए । क्यानको योजना अनुसार पिएमकप सुरु हुन डेढ महिना बाँकी रहँदा औपचारिक रुपमा कुनै तयारी भने थालिसकेको छैन तर यो अवस्थामा क्यानले सिधै प्रदेश छनोट गर्ने तयारी गरिरहेको बताएको छ ।

पिएमकपमा ७ प्रदेश र तीन विभागीय टोली गरि कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा दुई समूहमा पाँच–पाँच टोली विभाजन गरिने छ । दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

चन्दले भने ‘जिल्ला छनोट हुँदैन होला । प्रदेश छनोट भने गर्ने सल्लाह भइरहेको छ । डिसेम्बर अन्तिमबाट सुरु गरेर जनवरी दोस्रो हप्ता सम्म सम्पन्न गर्ने सोचमा छौं’, खेल मुलपानी र टीयू क्रिकेट मैदान हुने छन् । क्यानले पुरै १० टोलीबीच लिग गर्ने सोच बनाएपनि कोरोना महामारीको कारण समूहमा बाँडेर गर्नुपर्ने बाध्यता भएको चन्दले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पिएमकपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ र अन्य रकम भने क्यानले प्रायोजनबाट उठाउनुपर्ने हुन्छ ।

एकदिवसीय मान्यता देश नेपालको पिएमकप एकमात्र राष्ट्रिय एक दिवसिय प्रतियोगिता हो । राखेपले क्यान निलम्बनमा हुँदा सन् २०१७ देखि पिएमकप सुरु गरेको थियो ।

यस अघिका तीन संस्करणमा क्यान नहुँदा पिएमकपको लागि जिल्ला र प्रदेश छनोट भने हुन सकेको थिएन । यस पटक गत चैतमा कोरोना महामारी सुरु हुनुअघि काठमाडौं लागयत केहिले पिएमकपको लागि जिल्ला छनोट सुरु गरेपनि बीचैमा स्थगित गर्नु परेको थियो । प्रतियोगितामा विजेताले २० लाख र उप विजेताले १० लाख रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

प्रकाशित : ७ मंसिर २०७७, आइतबार