Logo

खेलकुद

ऐतिहासिक टी-२० सिरिज नेपालले जित्यो



तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज २-१ ले जितेको छ ।वर्षाका कारण १० ओभरमा छोट्याइएको तेस्रो तथा अन्तिम टी-२० मा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको थियो । तर, यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

रोमाञ्चक खेलमा यूएईलाई अन्तिम ओभरमा २० रन चाहिएको थियो । कप्तान पारस खड्काले ललित राजवंशीलाई बल दिए । पहिलो र दोस्रो बलमा विकेट लिएका उनले मात्र ५ रन दिँदै नेपाललाई पहिलो टी-२० सिरिज दिलाए ।

यूएईको सुरुवात भने निकै राम्रो थियो । सन्दीप लामिछानेको त्यो ओभरमा २० रन जोडेको थियो । पहिलो विकेटका लाम गुलाम शब्बर र अस्फाक अहमदले २९ रनको साझेदारी गरे । तर, दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले अस्फाकको विकेट लिए ।

पाँचौं ओभरको चौथो बलमा गुलाम आउट भएपछि यूएई दबाबमा आयो । आठौं ओभरमा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार रन खर्चेर दुई विकेट लिएपछि खेल नेपालको पक्षमा आएको थियो । यो ओभरमा करणले आक्रामक ब्याटिङ गरिरहेका साइमन अनवरलाई ३० रनमा आउट गरेका थिए ।

कप्तान मोहम्मद नाभिद पनि उनको शिकार भए ।नेपालका करण, ललितसँगै अविनाश बोहोराले २-२ विकेट लिए भने सन्दीप र सोमपालले १-१ विकेट लिए ।

मध्यक्रमको विस्फोटक ब्याटिङ

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात भने राम्रो रहेन । पवन शरार्फलाई शुन्यमै गुमाएको नेपालले पहिलो ओभरमा रन जोड्न सकेन । ज्ञानेन्द्र मल्ल ११ र दीपेन्द्र सिंह ऐरी २ रनमा आउट भए । मात्र २१ रन जोड्दा तीन विकेट गुमाएको नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे ।

चौथो विकेटको लागि पारस र सन्दीपले ३३ रनको साझेदारी गरे । पारसले १४ बलमा २९ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । अर्को विकेटका लागि विनोद र सन्दीपले ३७ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । आक्रामक पारी खेलेका सन्दीपले ११ बलमा २८ रन बनाए ।

विनोदले १३ बलमा २१ रन बनाए । करण केसीले ५ बलमा १० रन बनाए । अन्तिम ओभरमा नेपालले करण र विनोदसँग सोमपालको विकेट गुमाएको थियो । तर, १० रन जोडेको थियो ।

यूएईका लागि मोहम्मद नाभिद र अमिर हायतले समान २-२ विकेट लिए ।

एकदिवसीयको सफलता पुनरावृत्ति

टी-२० सिरिज खेल्नुअघि नेपालले यूएईसँग तीन म्याचको एकदिवसीय श्रृखला खेलेको थियो । दुबै सिरिजमा नेपालको प्रदर्शनमा एउटा समानता रहृयो, पहिलो खेलमा हार तर, उत्कृष्ट पुनरागमन गर्दै सिरिजमा २-१ को कब्जा ।

युवा खेलाडीहरुले भरिएको नेपालले पहिलो एकदिवसीय र टी-२० सिरिज जितेको छ । साथै रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए ।यस्तै सन्दीप जोरा टी-२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ३ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।