Logo

राजनीति

राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : अध्यक्ष निरौला



नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले राजनीतिक सहमतिका नाममा देश बर्बाद बनाएको आरोप लगाएका छन् । उनले राजनीतिक सहमति नेताहरुको स्वार्थमा हुने भएकाले देशको लागि राष्ट्रिय सहमति आवश्यक भएको बताए ।

देशको रक्षाको लागि जस्तोसुकै पनि आन्दोलन गर्ने दाबी गरेका छन् । पार्टीले शनिबार आफ्नै कार्यालय अनामनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष निरौलाले देशभित्र रहेका सबै विचार बोकेका शक्तिहरुबीच समन्वय गरिनुपर्नेमा जोड दिए । महंगी, भ्रष्टचार र अनियमितता बढ्दै गएकामा पार्टीले चिन्ता व्यक्त गरेको छ ।

‘यो देश सबैको साझा हो, बनाउँछन् भने ठीकै छ तर बिगार्ने अधिकार कसैलाई छैन’ निरौलाले भने ‘ देश बर्बाद गर्ने तत्वहरुलाई हामीले पहिचान गरेका छौं, आवश्यक परेपछि कडा प्रतिकार गर्छौ ।’ दलहरुका गलत सोच र कार्यशैलीले जनताले दिनैपिच्छे दुःख पाउँदै गरेको बताए । उनले संघीयता र धर्म निरपेक्षताको खारेजीको लागि आव्हान गरेका छन् ।

वर्तमान शासनसत्ता, संसदीय प्रणाली र यस्तैखाले राजनीति रहिरहने हो भने जनताले आफ्ना गुनासा राख्न पनि नपाउने दिन आउने दावी गरेका छन् । ‘वर्तमान राजनीतिक संस्कार गलत छ, यस्तै परिपाटी रहिरहँदा देश नै संकटमा पर्छ’ अध्यक्ष निरौलाले भने ‘अहिले प्रजातन्त्र, समाजवाद र न्याय हराएको छ, महिलाहरु दिनैपिच्छे बलात्कृत भएका छन्, योभन्दा कहालीलाग्दो अर्को अवस्था हुन सक्दैन ।’

संघीयताले समाज, सुरक्षा र भूगोलको विगठन गर्ने भन्दै पार्टीले आफूहरुका माग सरकारलाई सुनाउन पनि पत्रकार सम्मेलन गरेको जनाएको छ । ‘सरकारले हाम्रो आवाज सुनेन, ज्ञापनपत्र दिन खोज्दा पनि भेट पाएनौं र हुलाकबाट पठायौं’ अध्यक्ष निरौलाले भने ‘ अब यसरी नै हामीलाई बेबास्ता गर्दै जाने हो भने जस्तोसुकै आन्दोलन पनि गर्न तयार छौं ।’

पार्टीका वरिष्ठ नेता वर्तमान राजनीतिक दलहरुले लोकतन्त्र समाप्त गरेको आरोप लगाए । उनले सरकारको गराई र भनाइमा फरक भएकाले जनताले खवरदारी गर्नुपर्ने बेला भएको बताए । ‘कम्युनिस्टको इतिहास गतिलो छैन हिजो दिनदहाडै गाउँ लुट्थे उनीहरु, कतिपटक हामीले नै लखेट्यौं’ यादबले भने ‘ सरकार तानाशाही बन्दै गएको छ, जनता पीडित बनेका छन् त्यसैले पनि सबै एकजुट भएर प्रतिकार गर्नुपर्ने बेला भएको छ ।’

पार्टीका केन्द्रीय सदस्य प्रकाश पाण्डेले सरकारले युवालाई देशमै राखेर रोजगारको वातावरण सिर्जना गर्न नसक्दा अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । ‘सरकार युवालाई विदेश पठाउँदा खुशी मान्छ, भएका कलकारखाना पनि बेचेर खाए, विदेशिएका युवालाई नेपाल ल्याउनका लागि पहल गर्नुपर्छ ’ पाण्डेले भने ‘ सरकारले विदेशिएको तथ्यांक ढाँटेको छ, ९५ हजारभन्दा विदेशिएका छन्, देश सिध्याउने खेल भइरहेको छ ।’

यूवा संगठनका संयोजक कैलाश चौलागाइले पछिल्लो समयमा आशा लाग्ने कुनै पनि काम नभएको बताए । ‘देश अहिले काण्डैकाण्डमा फसेको छ, विपक्षीको भूमिका पनि प्रभावकारी भएन, देश बचाउने जिम्मा युवाको काँधमा छ’ चौलागाइले भने ।

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  ९ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।