Logo

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु



सिरहा, सुखिपुर नगरपालिका-८ स्थित सडकमा स.३ प ७३४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सिन्धुली दुधौली नगरपालिका-९ बस्ने २२ वर्षीय किरण गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका किरणको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुखिपुर नगरपालिका-८ बस्ने २० वर्षीय राजु चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।

चितवन, राप्ती नगरपालिका-७ हर्दी चोकस्थित सडकमा एनएल ०१ एल २४६० नम्बरको भारतीय एलपी बुलेटले प्रदेश ३-००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्ती नगरपालिका-५ बस्ने ३० वर्षीय नवराज दनै र २२ वर्षीय सचिन दनैको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ग्याँस बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका-२ जय चोकस्थित सडकमा मे.८ प ६३७७ नम्बरको मोटरसाइकल र को.१ ख ६८३१ नम्बरको बस एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक झापा मेची नगरपालिका-९ बस्ने ३२ वर्षीय मुकेश प्रसाद पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ, बेलबारी नगरपालिका-४ स्थित सडकमा प्रदेश १-०२-०४२ प ४२१६ नम्बरको मोटरसाइकल र को.३९ प ३८०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा को.३९ प ३८०१ नम्बरको मोटरसाइकलका चालक बेलबारी नगरपालिका-७ बस्ने ३७ वर्षीय नविन पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-७ बस्ने २६ वर्षीय मनोज बिष्टको बिराटनगर न्यूरो अस्पतालमा र प्रदेश १-०२-०४२ प ४२१६ नम्बरको मोटरसाइकलमा सवार चालक सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने २० वर्षीय नविन राई समेत २ जनाको धरान अस्पताल घोपामा उपचार भईरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार