Logo

प्रमुख समाचार

कोइराला परिवारको साझा निश्कर्ष : गुट उपगुटले कांग्रेस कमजोर भयो



नेपाली काङ्ग्रेस भित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको काङ्ग्रेसका नेताहरुले धारणा व्यक्त गर्नुभएको छ ।गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको गुट–उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको विचार व्यक्त गर्नुभयो ।

जिपी फाउण्डेशन पर्साको कार्यालय उद्घाटन तथा फोटो प्रदर्शनी कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको गुट–उपगुटले काङ्ग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा सङ्घर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिपी फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाले राखेको संसद् पुनस्र्थापनाको जगले नै राष्ट्रलाई निकास दिएको तथ्यलाई कसैले पनि बिर्सिन नहुने चर्चा गर्नुभयो । उहाँले जिपी कोइराला फाउण्डेशनले देशभरि सामाजिक कार्य मात्र गर्ने जानकारी दिनुभयो ।

जिपी कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसका नेताहरुभित्र अहिले नैतिकता र संस्कारको कमी भएको धारणा व्यक्त गर्नुभयो ।

“नैतिकता नभएका व्यक्तिले राजनीतिक गर्नु नै सामाजिक अपराध हो र नैतिकता तथा संस्कारको कमी नेपाली काङ्ग्रेस पार्टीभित्र देखिएको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अफताब आलम, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतका वक्ताले मुलुकमा बढ्दै गएको महँगी, हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले नेपाली जनता मारमा परे पनि सरकारले केही नगरेको आरोप लगाउनुभयो ।

सो अवसरमा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पाँच जना व्यक्तिलाई महामन्त्री डा कोइरालाले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । स्व गिरिजाप्रसाद कोइरालाको जीवनका महत्वपूर्ण घटनालाई दर्शाउने तस्बीरहरुलाई कार्यक्रममा प्रदर्शित गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  ६ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।