Logo

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु   



बैतडी, काठमाडौं, ललितपुर, झापा, मोरङ, पाल्पा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । 
बैतडी, दशरथचन्द नगरपालिका–१० बुड्डास्थित सडकमा ना.१ ज २१९६ नम्बरको जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा सुर्नया गाउँपालिका–४ बस्ने ७५ वर्षीया कलावती चन्द लगायत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जिप चालक सहित ५ जनामध्ये ४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने  १ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि डडेलधुरा अस्पतालतर्फ पठाइएको छ । 
काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ पिपलामोड ढलानस्थित सडकमा बा.६ ख ९७४८ नम्बरको गुडिरहेको ट्रकबाट ओर्लने क्रममा खुट्टा चिप्लिएर टायर मुनी पर्दा ट्रकका साहु सुनसरी बाराह क्षेत्र नगरपालिका११ बस्ने ३४ वर्षीय योगेन्द्र बिष्टको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
ललितपुर, ललितपुर महानगरपालिका–१७ ग्वार्को चोक नजिक सडकमा बा.२ क ८७५८ नम्बरको हात्ती गाडीको ठक्करबाट पैदलयात्री तनहुँ घर भएका ४२ वर्षीय भेष बहादुर बिश्वकर्माको मंगलबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । 
यसैगरी ललितपुर, ललितपुर महानरगपालिका–८ बालकुमारी नमस्ते पेट्रोल पम्प नजिक सडकमा  ना.१ ज ३६७७ नम्बरको टाटासुमो गाडीले मंगलबार राति साईकललाई ठक्कर दिँदा साइकलयात्री हाल नाम, थर, नखुलेका करिब ३४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि  ग्वार्कोस्थित बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
झापा, कन्काई नगरपालिका–१ जुके कल्भर्ट चोकमा प्र।१(०१(०१२ प ५८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय जगत बहादुर पाण्डेको मंगलबार साँझ मृत्यु भएको छ । आइतबार मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
मोरङ, कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडास्थित सडकमा को.२ त ८५६ नम्बरको ट्याक्टरले को.२८ प ८९६७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय हेम कुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
यसैगरी मोरङ, कहटरी गाउँपालिका–१ स्थित भित्रि सडकमा को।२ ह ५४९२ नम्बरको अटोबाट लडेर अटो चालक बिराटनगर महानगरपालिका(२ बस्ने ३५ वर्षीय सुनिल मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ ।
यसैगरी मोरङ, विराटनगर महानरगपालिका–१३ कोशी प्रोजेक्टस्थित सडकमा को.३९ प ९९९३ नम्बरको मोटरसाइकलले साईकललाई मंगलबार दिउँसो ठक्कर दिँदा साईकलयात्री विराटनगर महानरगपालिका–१५ बस्ने ६५ वर्षीय रतन साहको मृत्यु भएको   छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
साथै मोरङ, सुन्दर हरैचा नगरपालिका–६ दुलारीस्थित सडकमा को.३६ प ४४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सुन्दर हरैचा नगरपालिका–४ मा डेरा गरी बस्ने बिराटनगर महानगरपालिका–१२ घर भएकी २५ वर्षीया कल्पना यादबको १५ दिनको छोरा देब यादवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
पाल्पा, रैनादेबी छहरा गाउँपालिका(६ चहला सिमलस्थित सडकमा लु.३ त ७१५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोबाट करबि १० मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक रैनादेबी छहरा गाउँपालिका–६ चहला बस्ने  १९ वर्षीय रमन भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई उपचारका लागि बुटवलतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, गौरीगंगा नगरपालिका–३ झिलस्थित सडकमा सुदूर पश्चिम प्रदेश०१००९ प ९७६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  १ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।