Logo

सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले महिलाविरुद्ध हुने सबै हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानता र न्याय प्रतिवद्धता मात्र नभएर निष्ठा पनि भएको उल्लेख  गरेका थिए  ।

उनले राष्ट्रिय लैंगिक समानता नीतिको मस्यौदा मन्त्रिपरिषद्‌बाट पारित हुने क्रममा रहेको समेत बताएका  छन् । तेजाव आक्रमणबाट पीडितहरूलाई उपचार, क्षतिपूर्ति र जीविकोपार्जन तथा पीडकलाई थप सजायको व्यव्स्थासहितको अध्यादेश जारी गरिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले बलात्कारजस्ता गम्भीर आपराधिक घटनामा मेलमिलाप गराउनेलाई पनि कानूनी कारबाही हुने व्यवस्था गरिएको बताए ।

लैंगिक समानता र महिला अधिकारका क्षेत्रमा संविधान कार्यान्वयनको चरणमा सरकारले उल्लेखनीय उपलब्धी हासिल गरेका गरेको प्रधानमन्त्रीले दाबी गरे  ।

‘सन् २०१७ मा सम्पन्न तीन तहको निर्वाचनद्वारा १४, ६०० भन्दा बढी महिलाहरू विभिन्न तहमा निर्वाचित भएका छन्। राजनीतिक संरचनामा महिलाको सहभागिता स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३४ दशमलव ५ प्रतिशत र संघमा ३३ दशमलव ५ प्रतिशत पुगेको छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘हाम्रो उपलब्धि दक्षिण एशिया तथा विश्वकै विकसित मुलुकका लागि समेत प्रेरणादायी रहेको छ। हाम्रो मुलुकमा विभिन्न विधा र फाँटहरूमा महिलाहरूले सफल नेतृत्व गरिरहेका छन्।  उनीहरू परिवर्तनका संवाहक बनेका छन्।’

यति हुँदाहुँदै पनि लैंगिक हिंसाका घटनाहरू अपेक्षाकृत रूपमा न्यूनीकरण हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कानूनी प्रबन्धले मात्र यस्ता हिंसाका घटनालाई अन्त्य गर्न नसकिने बताएका छन् । व्यक्तिको अन्तरचेतनामा विवेक पैदा गर्न सामाजिक अभियान नै आवश्यक पर्ने उनको भनाई छ ।

‘तसर्थ, लैंगिक हिंसा पीडितको मानवअधिकार संरक्षण गर्न र लैंगिक हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्दछु’, प्रधानमन्त्रीले ओलीले बताए ।

विश्वव्यापी रुपमा सन् १९९१ देखि प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको रूपमा मनाउँदै आएको सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रमहरूको आयोजना गरी अभियान दिवस मनाइने गरेको सबैमा विदितै छ । यसबर्ष संयुक्त राष्ट्र संघले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तर्राष्ट्रिय नारा ‘Orange the World: Fund, Respond, Prevent, Collect!’ तय गरेको छ । नेपालमा हामी ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि मनाउँदै छौं । यस वर्ष कोभिड १९ को महामारीका कारण भौतिक रूपमा कार्यक्रम सञ्चालन गर्न सम्भव नभए पनि प्रविधिको माध्यमबाट  आ–आफ्नो स्थानबाट सुरक्षित रहँदै विभिन्न कार्यक्रमहरू सहित १६ दिने अभियानलाई सार्थक बनाउन म सबैमा आग्रह गर्दछु । साथै देशब्यापी रुपमा लैङ्गिक हिंसा विरूद्धको अभियानमा निरन्तर रुपमा लाग्नु भएका सरकारी निकाय, राजनीतिकर्मी, नागरिक सामाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरू  लगायत सम्पूर्णको प्रयासको प्रशंसा गर्दै हार्दिक धन्यवाद दिन चाहान्छु । कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासहरूका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरुपमा अन्त्य गर्न हामी सबैमा थप ऊर्जा मिलोस् भन्ने समेत यस अवसरमा कामना गर्दछु ।

 

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  ४ : ५४ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।