Logo

च्याम्पियन्स लिग : इन्टर मिलानमाथि रियल म्याड्रिडको सहज जित



यूईएफए च्याम्पियन्स लिग स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इन्टर मिलानलाई पराजित गरेको छ । गएराति भएकाे समूह बीको खेलमा म्याड्रिडले इन्टरलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे । इन्टरलाई उसैकाे घरेलु मैदानमा पराजित गर्नकाे इडेन हाजार्ड र रोड्रीगोले समान एक-एक गाेल गरे ।

खेलको सातौं मिनेटमा नै हाजार्डले पेनाल्टी गोलमा गर्दै रियललाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र निकोलो बरेलाले नाचो फर्नान्डेजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

पहिलाे हाफमा एक गाेल गरेकाे रियलले दाेस्राे हाफमा पनि एक गाेल थप्याे । खेलकाे ५९ औं मिनेटमा रियलका लागि रोड्रीगोले दोस्रो गोल गरे । मैदान प्रवेश गरेको ३० सेकेन्ड नबित्दै उनले लुकास भाज्केजको क्रसमा पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार गर्दै अग्रता दोब्बर पारेका थिए ।

इन्टरले गाेल गर्ने केही अवसर पाए पनि गाेल गर्न भने सकेन । ३३ औं मिनेटमा आर्टुरो भिडालले रातो कार्ड प्राप्त गरेपछि इन्टर मिलान १० खेलाडीमा समेटियो थियाे ।

पेनाल्टी क्षेत्रभित्र राफेल भारानले सहि ट्याकल गरेपनि पेनाल्टी मागेका भिडाललाई रेफ्री एन्थोनी टेलरले अत्याधिक कराएपछि पहेंलो कार्ड देखाएका थिए । तर कार्ड देखाएलगत्तै रेफ्रीमाथि पुन: जंगिएपछि टेलरले दोस्रो पहेंलो कार्ड देखाउँदै उनलाई मैदानबाहिर पठाए ।

याे जितसँगै रियल म्याड्रिड ४ खेलमा ७ अंक सहित दोस्रो स्थानमा छ । मोन्चेनग्लाडबाक ४ खेलमा ८ अंकसहित शीर्षस्थानमा छ । शाख्तर ४ अंकसहित तेस्रो स्थानमा छ भने  इन्टर मिलान २ अंकसहित पुछारमा छ । इन्टर अर्को चरणमा छनोट हुने झिनो सम्भावना बाँकी छ ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  ८ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।