Logo

भारतीय विदेश सचिव २ दिने भ्रमणमा आज नेपाल आउँदै



भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा श्रृंगला बिहीबार बिहान १० बजे विशेष विमानमार्फत नेपाल आउन थालगेका हुन् । नेपाल आएलगत्तै लागेका श्रृंगला उच्चस्तरीय भेटवार्तामा ब्यस्त हुनेछन् ।

परराष्ट्र अधिकारीका अनुसार श्रृंगालाले बिहीबार सचिव पौड्यालसँग औपचारिक वार्ता गर्ने तय भएको छ । त्यसलगत्तै श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

नेपाल–भारतबीच पछिल्लो समय सीमा विवादका कारण उत्पन्न परिस्थितिलाई समाधान गर्न भेट महत्वपूर्ण मानिएको छ । सीमा विवादका विषयमा औपचारिक रुपमा छलफल नहुने भएपनि अनौपचारिक कुराकानी भने हुनसक्ने अनुमान गरिएको छ ।

भेटमा दुई देशबीचको सम्बन्ध र भविष्यमा दुई देशबीच हुने उच्चस्तरीय भ्रमणका बारेमा कुराकानी हुने बताइएको छ । श्रृंगलाले प्रमुख प्रतिपक्षी दल कांग्रेस, अर्को प्रतिपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेतासँग पनि शिष्टाचार वार्ता हुने कार्यक्रम छ ।

यसैबीच, शुक्रबार भने श्रृंगलाले कूटनीतिज्ञ एवं अन्तर्राष्ट्रिय मामिला जानकारहरू माझ भारतको छिमेक नीति, नेपाल-भारत सम्बन्धलगायतका विषयमा सम्बोधन गर्नेछन् ।

विदेश मामिलासम्बन्धी थिंकट्यांक एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा विदेशसचिव शृंगलाले होटेल सोल्टीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ९ : २३ बजे