Logo

आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश



एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह चरणमा लगातार चौथो निकाल्दै युइएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको चौथो खेलमा नर्वेजियन क्लब मोल्देमाथि उसकै मैदानमा ३–० को जित निकाल्दै आर्सनलले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

आर्सनलको सहज जितमा निकोलस पेपे, रेइस नेल्सन र फोलारिन बालोगनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । एकर स्टेडियम मोल्देमा बिहीबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा मोल्देले पाहुना टोली आर्सनललाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

खेलको तेस्रो मिनेटमा नै रेइस नेल्सन चुक्दा आर्सनलले अग्रता लिन सकेन । १३औं मिनेटमा नेल्सन र एलेसान्द्र लाकाजेटको समन्वयमा नेल्सनको प्रहारलाई मोल्देका गोलरक्षक एन्ड्रियस लिन्डेले बचाए । १५औं मिनेटमा घरेलु टोलीले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । माग्नस वल्फ इकरिमबाट इरिक हेस्टाड हुदै सिनयानको प्रहारलाई आर्सनलका गोलरक्षक रुनर एलक्स रुनारसनले बचाए ।

२१औं मिनेटमा ग्रानिट झाकाको पासमा निकोलस पेपेले गोल गर्न सकेनन् । ४८औं मिनेटमा पेपेको प्रहार क्रसबारमा लागेर फर्कदा आर्सनल अग्रता लिनबाट चुक्यो । ५०औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १–० ले अघि बढाए । उनले जोसेप विललकको पासमा पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।

५५औं मिनेटमा जोसेप विललककै पासमा रेइस नेल्सनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पार्‍यो । ८३औं मिनेटमा इमिल स्मिथ रोविको पासमा फोलारिन बालोगनले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए ।

यो जितसँगै समूह ‘बी’ मा अपराजित रहेको आर्सनल ४ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित मोल्दे ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १० : ०६ बजे