नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले पार्टीको अनुशासन समितिलाई पूर्णता दिदैं निर्बाचन समिति गठन गरेको छ।सोमबारको बैठकले काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा देबेन्द्रराज कँडेल र किशोरसिं राठौरलाई सदस्यमा नियुक्त गरेको थियो ।
आङ्देम्बे, कँडेल र राठौर संस्थापन निकट मानिन्छन्। रामचन्द्र पौडेलले आजको बैठकमा आफ्नो तर्फबाट अनुशासन समितिमा धनराज गुरुङलाई मनोनित गरेका छन् भने कृष्णप्रसाद सिटौलाका तर्फबाट उमाकान्त चौधरी रहेका छन्। यो संगै अनुशासन समितिले पूर्णता पाएको छ।
यसैगरी राधेश्याम अधिकारीको संयोजकत्वमा निर्बाचन समिति गठन गरिएको छ। समितिका सदस्यहरुमा खम्बबहादुर खाती, गोपाल कृष्ण घिमिरे, टेकराज पोख्रेल र सिताराम केसी छन्।
यस्तै आजको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित विधान मस्यौदा नियमावली समिति गठन गरेको छ। समितिका सदस्यहरुमा इश्वरी न्यौपाने, प्रदिप पौडेल,। मिन विश्वकर्मा र जीवन परियार रहेका छन् ।
चैत्र ५, २०७५
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।
बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
१. विखण्डनको मार्ग परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधानभित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिका बारे रहेको गम्भीर विरोधाभासलाई सुस्पष्ट गर्न बैठक सरकार समक्ष माग गर्दछ । सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या नगरिनु अत्यन्तै आपत्तिजनक
छ । तराई–मधेश लगायत मुलुकको सबै भू–भागका आम नेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि बैठकले स्मरण गराएको छ ।
२. नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन बैठकले अपिल गरेको छ । निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न बैठकले सरकार समक्ष आग्रह गरेको छ । दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ ।
३. राष्ट्रिय संवेदनशीलताका विषयमा कुनै पनि महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई वर्तमान सरकारले त्याग गरिरहेको विषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै बैठकले सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।
केन्द्रीय अनुशासन समितिलाई पूर्णता
४. नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार श्री भीष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित “केन्द्रीय अनुशासन समिति’ को बाँकी रहेको दुई सदस्यहरुमा प्रस्तावित श्री उमाकान्त चौधरी र श्री धनराज गुरुङलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
बैठकले यस अघिको केन्द्रीय अनुशासन समितिमा रहनु भएका संयोजक श्री रमेश रिजाल लगायत समितिका सबै सदस्यलाई धन्यवाद व्यक्त गरेको छ ।
नियमावली मस्यौदा समिति गठन
५. नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (६) अनुसार देहाय बमोजिमको “पार्टी नियमावली मस्यौदा समिति” सर्वसम्मतिले गठन गरेको छ । जस अनुसार—
संयोजक — श्री रमेश लेखक
सदस्य — श्री मीन विश्वकर्मा
सदस्य — श्री जीवन परियार
सदस्य — श्री ईश्वरी न्यौपाने
सदस्य — श्री प्रदीप पौडेल
केन्द्रीय निर्वाचन समिति गठन
६. नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३५ (१) अनुसार देहाय बमोजिमको “केन्द्रीय निर्वाचन समिति” सर्वसम्मतिले गठन गरेको छ । जस अनुसार—
संयोजक — श्री राधेश्याम अधिकारी
सदस्य — श्री गोपालकृष्ण घिमिरे
सदस्य — श्री खम्मबहादुर खाती
सदस्य — श्री सिताराम के.सी.
सदस्य — श्री एकराज पोखरेल
७. मुलुकभर अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटो तर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्दै यस सुखद अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइहरुमा कार्यसमितिको यो बैठक हार्दिक शुभ–कामना व्यक्त गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव





















प्रतिक्रिया