सामान्यतया जसलाई पनि आफू कति वर्षको भएँ भन्ने थाहा हुन्छ तर काठमाडौंको थापाथलीको पछाडि रहेको सुकुम्बासी बस्ती छेउमा बस्ने धनकुमारी राइलाई भने आफ्नो उमेर नै थाहा छैन ।
‘बुबाआमा बितिहाले, कति वर्ष पुगेँ के थाहा’ धनकुमारी राइले भन्नुभयो ‘ नागरिकता त थियो तर गाउँकै रोहित थारुले लगेको अझै पनि ल्याइदिएको छैन ।’ उहाँलाई सरकारले बृद्ध भत्ता दिन्छ भन्ने पनि थाहा छैन । ‘खोई त्यस्तो त थाहा छैन मलाई कसैले भन्दैनन्’ उहाँले भन्नुभयो ‘नागरिकता लाँदाचाँही पैसा देलान् कि जस्तो लाग्थ्यो तर न पैसा दिए न नागरिकता नै आयो ।’
नुवाकोटमा हुँदा नै स्थानीय थारुले घरबाट नागरिकता मागेर लगेका थिए । नुवाकोटको त्रिशुली स्थायी घर भएकी उहाँ अहिले कान्छी छोरीका नातिनातिनासँग बस्नुहुन्छ । बिहान खाना खाएर प्रसुति गृह वरिपरि घुम्ने उहाँलाई केहीले माया गरेर आर्थिक सहयोग पनि गर्छन् भने खानेकुरा पनि किनिदिन्छन् ।
‘पैसा दिए चिन्छु नदिए त के चिन्नु’ र भन्ने उहाँ मनमा दया भएका कसैकसैले पैसा दिने र कोही भने ‘यो बुढीलाई पनि कसैले पैसा दिन्छ’ भनेर हिँड्ने गरेको सुनाउनुहुन्छ ।
कान्छी छोरी ललितपुरको हात्तिवनमा बस्नुहुन्छ, केही समय त्यहाँ बसेपछि अहिले नातिनातिनासँग बस्दै आउनुभएको हो । केही वर्षअघि भ¥याङबाट लडेर सिकिस्त भएको बताउने उहाँका हात खुट्टा पोल्ने र सधैं झमझमाउने गर्छन् । आफूले जिवनमा धेरै पीँडा पाएको अनुभव छ उहाँमा । श्रीमानको निधन कहिले भयो भन्ने पनि थाहा छैन ।
‘खोई कहिले हो कहिले थाहै छैन, छोडेर गइहाले, म एक्ली भएँ’ उहाँले भन्नुभयो । बुढ्यौली लागेपछि लठ्ठी अहिले सहारा बनेको छ ।
औंशीको दिन चामल कुट्नु हुँदैन भनेर छोरीलाई बेलुका खाना नखुवाइकन सुताएको सम्झना गर्दै उहाँ भन्नुहुन्छ ‘ अचम्म भयो, त्यो दिन चामल कुटिन, छोरीलाई भात खुवाउन पाइन, उसले म त आज राती नै मर्छु भनेकी थिई, बिहान उठ्दा छोरी बितिछ सपनाजस्तै भयो ।’ उहाँको कोखबाट ३ छोरीको जन्म भएको हो ।
प्रतिक्रिया