Logo

प्रमुख समाचार

गरीबी निवारणमा नेपालको नेतृत्वय दक्षिण एशियामै अग्रस्थानमा : डा. रामशरण महत



पूर्वअर्थमन्त्री डा. रामशरण महतले २०४६ को परिवर्तनपछि नेपालमा निजी क्षेत्रलाई लगानीका लागि अभिप्रेरित गरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा बोल्दै डा. महतले नेपालमा पछिल्लो समय लगानीको वातावरण उच्च हुँदै गएको बताएका हुन् । उनले निजी क्षेत्रले हवाई, दुरसञ्चार तथा ऊर्जा क्षेत्रमा ठूलो सफलता हासिल गरेको तथ्य पेश गरेका थिए ।

नेपालले विगतका दुई दशकमा राजनीतिक अस्थिरता, भूकम्प जस्ता ठूलो समस्या भोगेको उल्लेख गर्दै ती समस्याबाट बाहिर निस्केर नेपाल अहिले नयाँ स्थानमा आइपुगेको डा. महतको भनाइ थियो । उनले मानवविकास सूचाङ्कमा समेत नेपालले लगातार सफलता हासिल गर्दै आएको उल्लेख गर्दै यतिखेर नेपाल केवल १५ प्रतिशत मात्रै गरिबीको रेखामुनी रहेको बताए।

गरीबी निवारणमा नेपालले नेतृत्व गरेको र दक्षिण एशियामा नै अग्रस्थानमा रहेको तथ्य पेश गर्दै उनले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषणले पनि गरीबी निवारणमा सहयोग गरेको छ भने ।

उनले भने, ‘आर्थिक विकासका लागि यतिखेर नै महत्वपूर्ण अवसर छ ।’ उनले स्वदेशी लगानीले मात्रै धेरै क्षेत्रमा प्रगति गर्न नसकिएकाले विदेशी लगानी जरुरी रहेको बताए।

सम्मेलनमा दर्जनौं भौतिक पूर्वाधारसँग जोडिएका परियोजना प्रस्तुत गरिएको जानकारी दिँदै उनले धेरै क्षेत्रमा लगानी गर्न सकिने बताए। नेपालमा कडा परिश्रम गर्नसक्ने जनशक्ति रहेको र अन्तर्राष्टिय क्षेत्रमा समेत नेपालीले ख्याती कमाएको भन्दै उनले नेपाल स्वच्छ ऊर्जाको पावरहाउस रहेको बताए।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा ऊर्जा आदानप्रदानका लागि सहमति भएको, बङ्गलादेशसँग पनि सहमति भएको तथ्य पेश गर्दै उनले नेपालमा कृषि, जडीबुटी, उच्च मूल्यप्राप्त हुनसक्ने खेतीसमेत गर्न सकिने स्पष्ट पारे ।

सम्मेलनका क्रममा आज नै नेपालमा लगानीको अवसर विषयमा छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार १४:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।