Logo

प्रमुख समाचार

भोलि ५ गते नेपाल बन्द



बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले (भोलि) वैशाख ५ गते बिहीबारको नेपाल बन्द शशक्तरुपमा सफल पार्न सबै पक्षलाई आह्वान गरेको छ । बन्दको पूर्वसन्ध्यामा एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेकपा केन्द्रीय कार्यालयले देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिल गरेको हो ।

उक्त पार्टीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित अपिलमा भनिएको छ, ‘केपी सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौँ । उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ । अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौँ ।’

अधकचल्चो क्रान्तिले केही व्यक्ति र नेताहरूलाई सत्ताभोगी लुटेरा वर्गमा पतन गर्ने खतरा रहेको भन्दै नेकपाले आफूहरुले जनयुद्धलाई  त्यस्तो खतराबाट बचाउन चाहे पनि प्रचण्डहरूको गद्दारीले गर्दा मुठीभर माओवादीहरूलाई दलाल पुँजीपति (अर्बपति, करोडपति) वर्गमा पतन गराएको बताएको छ ।

अपिलमा अगाडि भनिएको छ,- ‘अधकचल्चो क्रान्तिले केही व्यक्ति र नेताहरूलाई सत्ताभोगी लुटेरा वर्गमा पतन गरिदिन्छ । जनयुद्धलाई हामी यसबाट बचाउन चाहन्थ्यौँ । अपसोच ! प्रचण्डहरूको गद्दारीले गर्दा मुठीभर माओवादीहरू (धेरै त त्यहाँ पनि उत्पीडित नै छन्) लाई दलाल पुँजीपति (अर्बपति, करोडपति) वर्गमा पतन गरायो । उनीहरूलाई उदाहरण बनाएर सारा क्रान्ति नै असम्भव भन्दै जनताको मुक्तिमार्गलाई बन्द गरिदिने षड्यन्त्र चलिरहेको छ । यसबाट सबै सचेत बनौँ ।’

अहिले पनि प्रचण्डहरूलाई उदाहरण बनाएर सारा क्रान्ति नै असम्भव भन्दै जनताको मुक्तिमार्गलाई बन्द गरिदिने षड्यन्त्र चलिरहेको र यसबाट सबै सचेत बन्नुपर्ने नेकपाको भनाई छ । पुँजीवाद—दलाल पुँजीवाद रहेसम्म जनता मुक्त, सुखी र समृद्धसम्भव नभएकाे नेकपाले जनाएकाे छ ।

अपिलमा अगाडि भनिएको छ,- पुँजीवाद—दलाल पुँजीवाद रहेसम्म न जनता मुक्त हुनेछन्, न त सुखी र समृद्ध नै हुनेछन् । यी सबै कुरा दलाल वर्गका थैली भर्ने फट्याइँ मात्र हुन् । यस्ता नयाँ जोगीहरूको उचालाइमा लागेर सेना–प्रहरीहरूका जवान र अफिसरहरू पनि धेरै चकचक नगरौँ । तसर्थ आउनुहोस् जनसमुदाय मुक्ति, अधिकार र स्वाधीनताका लागि सारा एक हौँ र केपी वली सरकारको फासिवादी दमनको प्रतिरोध गरौँ ।’

केपी ओली सरकार आएपछि व्यापकरुपमा जनघाती–राष्ट्रघाती अपराध र काण्डहरू भएको नेकपाको ठहर छ । नेकपाले सुन तस्करहरूको हिसाब खै ? ठूलो जहाज काण्डको ६ अर्ब रुपैयाँ खै ? चिनी काण्डका अपराधीहरू, एनसेलकाण्ड रच्ने कमिसनखोरहरू खै ? भन्दै प्रश्न समेत गरेको छ ।

अपिलमा भनिएको छ,-‘केपी वली सरकार आएपछि कति जनघाती–राष्ट्रघाती अपराध र काण्डहरू भए । खै सुन तस्करहरूको हिसाब, खै ठूलो जहाज काण्डको ६ अर्ब रुपैयाँ, खै चिनी काण्डका अपराधीहरू, खै एनसेलकाण्ड रच्ने कमिसनखोरहरू, खै बूढीगण्डकीका कमिसनखोरहरू, खै निर्मलाका बलात्कारी र हत्याराहरू, खै अरुण तीन र माथिल्लो कर्णाली बेचेर खानेहरू ? ‘

अपिलमा भनिएको छ- ‘खै प्रहरी–प्रशासनलाई घूसखोरी, चाकरी–चाप्लुसीमा फसाएर इमानदारलाई कारबाही र ठगलाई पुरस्कृत गर्ने फटाहाहरू ? भाषणमा त केपी ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेको होइन ?! आज के हुँदैछ जनसमुदाय ? केपी बस्ने बालुवाटारसमेत बेचेर खाने, आफ्नो नाममा बनाउने विष्णु पौडेलहरूलाई के भयो ? तारागाउँको सयौँ रोपनी जमिन लिलाम गरेर खानेहरूलाई के भयो ? भ्रष्टाचारको छानबिन गर्ने भन्ने अख्तियारका भ्रष्टाचारीहरूलाई के भयो ? के यो केपीको पाखण्डी, निकृष्ट र अधमपन होइन ? यो त ‘मुखमा रामराम, बगलीमा छुरा’ भनेको भएन ?’

ओलीले मुखमा रामराम, बगलीमा छुरा’ जस्तै व्यवहार देखाएको नेकपाको बुझाई छ । अपिलमा भनिएको छ- ‘म भ्रष्टाचरमा डुब्छु र अरूलाई पनि भ्रष्टाचारमै बगाउँछु भनेको भएन ?! यी अपराधी त उल्टो हामीलाई गोली हान्ने आदेश दिँदै पो हिँडेका छन् त ! अनि यस्ता अपराधीहरूलाई कारबाही हुनुपर्छ र यो सत्ताको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्दा हामीमाथि प्रतिबन्ध लगाउनुपर्छ ? जनताले नै भन्नुस्, प्रतिबन्ध हामीलाई कि देश डुबाउने, जनता कङ्गाल बनाउने, जनतामाथि दमन गर्ने र राजनीतिक अधिकार नै खोस्ने भ्रष्ट, तस्कर, कमिसनखोर, दलाल केपी सरकारमाथि लगाउने ?’

आफ्नो पार्टी देश र जनताका पक्षमा लड्दै आएको प्रष्ट पार्दै नेकपाले वास्तवमै देशको स्वाधीनता, जनताको पूर्ण मुक्ति र अधिकारबाहेक केही अरु केहि पनि नचाहिएको बताएको छ ।

अपिलमा भनिएको छ,-‘हाम्रो पार्टी श्रमिक जनता मजदुर किसानको अधिकारका लागि लड्ने पार्टी हो । सारा देशलाई माया गर्ने देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरूको नेतृत्व गर्न तयार पार्टी हो । हामीलाई वास्तवमै देशको स्वाधीनता, जनताको पूर्ण मुक्ति र अधिकारबाहेक केही चाहिएको छैन ।’

नेकपाले नेपाली क्रान्तिका अनेकौँ तीतामीठा, सफल—असफल शिक्षाहरूसहित एकीकृत जनक्रान्तिलाई अगाडि बढाएको जनाएको छ । २००७, २०२८ र २०५२ सालका विद्रोह र जनयुद्धमा साथ दिने, भाग लिने जनताका बलिदान, आशा अपेक्षालाई बुझेर, काङ्ग्रेस, केपी वली, प्रचण्डहरूसम्मका धोका, बेइमानीलाई पचाएर देशको शासन सत्ता परिवर्तन गर्ने अठोटका साथ यो कदम उठाएको नेकपाको भनाइ छ ।

अपिलमा भनिएको छ,-हामीले नेपाली क्रान्तिका अनेकौँ तीतामीठा, सफल—असफल शिक्षाहरूसहित एकीकृत जनक्रान्तिलाई अगाडि बढाएका छौँ । हामीले २००७ साल, २०२८ साल र २०५२ सालका विद्रोह र जनयुद्धमा साथ दिने, भाग लिने जनताका बलिदान, आशा अपेक्षालाई बुझेर, काङ्ग्रेस, केपी वली, प्रचण्डहरूसम्मका धोका, बेइमानीलाई पचाएर देशको शासन सत्ता परिवर्तन गर्ने अठोटका साथ यो कदम उठाएका छौँ ।’

ओली सरकारको प्रतिबन्ध, पार्टी स्थायी समिति सदस्य सुदर्शनसहितका नेता कार्यकर्ताहरुको गिरफ्तारी र समर्थक शुभचिन्तकहरुमाथिको धरपकडको विरोधमा नेकपाले भोलि ५ गते नेपाल बन्द आव्हान गरेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।