चितवनको रामपुरमा जारी गौतम बुद्ध कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा राप्ती टिमले वाग्मतीलाई १३० रनको मध्यम लक्ष्य दिएको छ ।
यसघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन बनाएपछि वाग्मतीले मध्यम लक्ष्य पाएको हो ।
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा ब्याटिङ थालेको राप्तीको सुरुवात राम्रो हुन सकेन । राप्तीको ५ रन हुँदा कुशल भुर्तेल ब्यक्तिगत तीन रनमा आउट भएका थिए । त्यसपछि अमित श्रेष्ठसँग मिलेर शरद भेषावकरले ४० रनको साझेदारी गर्दै टिमलाई उकास्न खोजेका थिएतर दोस्रो विकेटको रुपमा शरद २१ रनमा आउट भएपछि राप्ती थप दबाबमा आएको थियो ।
त्यसपछि ब्याटिङ गर्न आएका कप्तान विनोद भण्डारीले अमितसँग मिलेर टिमको ७४ रन बनाउँदा कप्तान विनोद २१ रनमा आउट भए । अमित पनि २६ रनमा आउट भएपछि राप्तीको विकेट पतन सुरु भयो त्यसपछि आएका कमलसिंह ऐरीले १६, लोकेश बमले १५, जितेन्द्र मुखियाले ९ र अविनाश बोहराले ७ रन बनाए ।
बलिङतर्फ वाग्मतीका सोमपाल कामी, सागर ढकाल र राशिद खान तीनै जनाले समान २–२ विकेट लिएका थिए ।
अबको केहीबेरमा बाग्मती ब्याटिङमा उत्रदै छ ।
प्रतिक्रिया