Logo

अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात सदखोर कारागार चलान



बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न मुख्य भूमिका खेलेपछि भ्रष्टचार अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई डिल्ली बजारस्थित सदखोर कारागार चलान गरिएको छ ।आइतबार (आज) विषेश अदालतले थुनछेक आदेश गर्दै बस्न्यातलाई थुनामा पठाउने निर्णय गरेसँगै उनलाई सदरखोरको ‘क’ ब्लकमा राखिएको बताइएको छ । उक्त कारागार भीआईपी थुनुवाका लागि चर्चित छ ।

सोही ब्लकमा यसअघि पूर्व सभामुख कृष्णबहादुर महरा र सशस्त्र प्रहरीका डीआइजी रञ्जन कोइरालालाई राखिएको थियो । साथमा टिकापुर घटनामा मुख्य दोषी ठहर रेशम चौधरीलाई पनि सोही कारागारमै राखिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको थियो ।

अदालतमा अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातसँग लिएको बयानपछि अदालतले उक्त आदेश जारी गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारकै पूर्वप्रमुख आयुक्तसँगै भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद बिक्री गर्ने विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । त्यसमध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत रहेका थिए । गत फागुनमै अदालतमा उपस्थिति हुन अदालतले भनेता पनि कोरोनाको महाकारीका कारण गरिएको बन्दाबन्दीले सरेको थियो ।

पूर्वमन्त्रीहरुमा डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र छविराज पन्त तथा पूर्वसचिव दिनेशहरि अधिकारी उपस्थित भई जोशीबाहेक अन्य जनही रु पाँच लाख धरौटीमा छुट्ने आदेश भएको थियो । अदालतले जोशीलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार २२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।