प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा जारी गरिएको सन्देशमा त्रेतायुगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर आएका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ।
मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाई पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा वर्षेनी मार्ग महिनाको शुक्लपक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ । सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्लपञ्चमी तिथिमा श्रीराम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ । उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने परम्परा छ।
Related
प्रकाशित मिति : पुष ४, २०७७ शनिबार ४ : ०६ बजे
0
Shares
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया